सरकारले जनतालाई राहत दिन सकेन : देउवा
भक्तपुर, फागुन ३ : काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी कुनै पन....
भक्तपुर, फागुन ३ : काङ्ग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी कुनै पनि काम गर्न नसकेको बताएका छन् ।
काङ्ग्रेस भक्तपुरले आज मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा बोल्दै देउवाले सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताए ।
देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधीहरु गरिरहेको पनि बताए । “देशमा हत्या, हिंसा, बलात्कारका घटना बढेपनि दोषीलाई कारवाही गर्न सरकारले सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्या काण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन” देउवाले भने ।
कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारले जनताले मूल्याङ्कन गर्न मिल्ने गरी सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए । नेता सिंहले कम्युनिष्ट सरकारले सङ्घीयतालाई बचाउन सक्ने गरी सङ्घीयता कार्यान्वयन हुन सक्ने गरी काम गर्न नसकेको आरोप लगाए ।
सभापति देउवाद्वारा जम्मु–कश्मिरको घटनाप्रति दुःख व्यक्त
काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतको जम्मु–कश्मिरको पुलवामामा बिहीबार भएको आत्मघाती हमलाप्रति दुःख व्यक्त गरेका छन् ।
सभापति देउवाले आज एक विज्ञप्ति जारी गरेर सो घटनाले सम्पूर्ण विश्वलाई नै शोकविह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै त्यस्ता आतङ्ककारी घटनाको पुनरावृत्ति हुनु अत्यन्त दुःखद भएको बताएका छन् ।
उक्त हमलामा भारतको केन्द्रीय रिजर्भ पुलिस बलका ४० जनाको मृत्यु भएको थियो ।
‘विश्वको जुनसुकै कुनामा हुने मानवता विरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गर्दछ, हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनुपर्दछ भन्ने काङ्ग्रेसको स्पष्ट धारणा रहँदै आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । उनले यस दुःखद क्षणमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट भारत सरकार र भारतीय जनताप्रति सहानुभूति प्रकट गर्दै धैर्यताका साथ अगाडि बढ्न आग्रह गरेका छन् ।
सभापति देउवाले घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।






