राष्ट्रिय टिममा सनिस, मणि, दीपक र सुमितको डेब्यू
लाओसविरुद्ध डिफेन्डर सनिस श्रेष्ठ, स्ट्राइकर दीपकसिंह ठकुरी र सुमित श्रेष्ठ तथा मिडफिल्डर मणि लामाले राष्ट्रिय टिममा डेब्यूको अवसर पाएका हुन्।
काठमाडाैं, चैत ८ : नेपाली राष्ट्रिय फुटबल टिममा चार नयाँ अनुहारले डेब्यू गरेका छन् । दशरथ रंगशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कपको उद्घाटन खेलमा आलोसविरुद्ध नेपालका चार खेलाडीले राष्ट्रिय टिममा डेब्यूको अवसर पाएका हुन्।
लाओसविरुद्ध डिफेन्डर सनिस श्रेष्ठ, स्ट्राइकर दीपकसिंह ठकुरी र सुमित श्रेष्ठ तथा मिडफिल्डर मणि लामाले राष्ट्रिय टिममा डेब्यूको अवसर पाएका हुन्।
मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले डिफेन्डर सनिसलाई प्लेइङ सेटमै राखेका थिए । विभागीय टिम एपिएफबाट व्यासयिक फुटबल खेल्ने सनिस ए डिभिजन लिगमा गरेको प्रदर्शनका आधारमा टिममा परेका थिए।
यस्तै, राष्ट्रिय फुटसल टिमका सदस्य मणि लामाले पनि राष्ट्रिय फुटबल टिममा डेब्यूको अवसर पाए। उनी दोस्रो हाफमा नवीन लामाको स्थानमा मैदान प्रवेश गरेका थिए। एपिएफबाटै व्यवसायिक फुटबल खेल्ने मणि सन् २०१७ देखि नै राष्ट्रिय फुटसल टिमका सदस्य हुन्। उनले फुटसल एसियन कप छनोटको तीन संस्करण खेलेका र तीनै संस्करणमा गोल पनि गरेका छन्।
यता, स्ट्राइकर दीपक र सुमितले पनि दोस्रो हाफमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यू गरे। दीपक नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। सातदोबाटो युथ क्लबमा आबद्ध दीपकले लिगमा उत्कृष्ट प्रर्दशन गरेका छन्। उनले लिगका ५ खेलमा ४ गोल गरेका छन्।
यस्तै, फुटलसबाटै उदाएका सुमित श्रेष्ठले छोटो समयमै राष्ट्रिय टिममा डेब्यूको अवसर पाए। पोखरेली मेसीको उपनामले चिनिने सुमित ए डिभिजन मनाङ मर्स्याङ्दी क्लबाट खेलिरहेका छन्।











