लाओससँग भीड्दै नेपाल
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसको सामाना गर्नेछ। खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
काठमाडाैं, चैत ८ : आजबाट दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटलब प्रतियोगिता सुरु हुँदैछ। नेपला, भुटान र लाओस सहभागी यो प्रतियोगिता फिफा क्यालेन्डर अनुसार अलिख नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसको सामाना गर्नेछ। खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
नेपालले घरेलु मैदानमा पहिलो पटक र सन् २०१६ पछि पहिलो पटक लाओसको सामाना गर्दैछ। सन् २०१६मा भएको एएफसी सोलिडासिरटी कपको फाइनलमा नेपालले लाओसलाई पेनाल्टी सुटआउटमा ३–०ले हराउँदै उपाधि जितेको थियो।
फिफा वरियतामा नेपाल लाओसभन्द माथि छ । नेपाल १७५औं स्थानमा रहँदा लाओस १८७ औंमा छ। तर, खेलमा वरियतालाई ध्यान नदिने नेपाली टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताएका छन्।
जित्नका लागि खेल्न बताउँदै प्रशिक्षक एनेसले भने, ‘लाओसविरुद्ध राम्रो गर्छौं । लाओसको स्तरबारे हामी जानकार छौं । हाम्रो स्तर पनि थाह छ । मैदानमा वरीयताले फरक पार्दैन । लाओसविरुद्ध जित प्रतियोगिताको लागि महत्त्वपूर्ण छ । साफ तयारीका लागि यो राम्रो अवसर हो।’
राष्ट्रिय टिमका अधिकांश खेलाडी विदेसिएपछि अहिले नेपाली टिम पुरै नयाँ जस्तै भएको छ। टिमका अधिकांश युवा र नयाँ खेलाडीले भरिएको छ । टिम नयाँ र तयारी छोटो भएकाले आफूहरुका थप चुनौती भएको कप्तान किरणकुमार लिम्बूले बताए।
‘प्रतियोगिताका लागि छोटो तयारी भए पनि हामीले चुनौती स्वीकार्नुपर्छ र खेल आकर्षक हुन्छ होला । खेलाडी सबै फिट छौं । हामीले एकअर्काप्रति विश्वास गर्नुपर्छ,’ किरणले भने, ‘मसँगै खेलेका थुप्रै सिनियर खेलाडी बाहिर गएका छन् । यस्तो चुनौती पनि हामीले स्वीकार्नैपर्छ । ट्रफी र देशका लागि प्रतिस्पर्धा गर्छौं । हामी आफ्नो उत्कृष्ट प्रयास गर्नेछौं।’
किरणले नयाँ प्रशिक्षक, सिनियर–जुनियर खेलाडी जो आए पनि नेपालका लागि खेल्ने बताए। प्रतियोगिताका लागि प्रशिक्षक एनेसले सोमबारमात्रै ७ नयाँ अनुसारलाई टिममा राख्दै २३ सदस्यीय टिम घोषणा गरेका छन्।
लाओसका मुख्य प्रशिक्षक माइकल वेसले टिम युवा रहेकाले राम्रो टिमसँग खेल्ने चुनौती रहेको बताए । उनले नेपाली टिम घरेलु मैदानमा खेल्दा नेपाली टिम आक्रमक र उत्साहित हुने उल्लेख गरे। उनले युवा टिमले राम्रो खेलिरहेकाले अर्को पाँच वर्षमा लाओसको टिम माथिल्लो स्तरमा पुग्ने बताए।











