हिमपहिरोमा परेका सात पर्यटक अझै वेपत्ता
पोखरा, माघ ५ : अन्नपूर्ण आधारशिविर पदमार्गमा हिमपहिरोमा परि वेपत्ता भएका सात पर्यटक आज बिहानसम्म पनि भेट्याउन सकिएको छैन। उनीहरुको अवस्था अज्ञात रहेको....

पोखरा, माघ ५ : अन्नपूर्ण आधारशिविर पदमार्गमा हिमपहिरोमा परि वेपत्ता भएका सात पर्यटक आज बिहानसम्म पनि भेट्याउन सकिएको छैन। उनीहरुको अवस्था अज्ञात रहेको छ।
अन्नपूर्ण गाउँपालिका–११ को हिमालय र देउरालीबीच हिङकु केभमा शुक्रबार बिहान ११ बजेतिर हिमपहिरो आएको थियो।
हिमपहिरोमा परि चार जना कोरियन र तीन जना नेपाली वेपत्ता भएका हुन्।
हिमपहिरोमा परि कोरियन नागरिक लि मिन सु, जोङ पिल बोङ, किम सुक जा र चोइ ह्यो वोन बेपत्ता कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए। उनका अनुसार वेपत्ता हुनेमा दुई जना पुरुष र दुई जना महिला छन्।
त्यस्तै, उनीहरूसँगै गएका तीन जना नेपाली पनि वेपत्ता छन्। वेपत्ता हुनेहरूमा वाङदक भोटे (शेर्पा), सरोज परियार र मेनबहादुर तामाङ रहेको प्रमुख जिल्ला अधिकारी केसीले बताए।
हिङकु केभ क्षेत्रमा बाक्लो हिउँ परेकाले उद्धार गर्न कठिन भएको जनाएको छ। शनिबार दिउसो केही स्थानीय वासिन्दा हिमपहिरोस्थल पुगेका थिए। बाक्लो हिउँ भएकाले खोजबिन समस्या भएको प्रमुख जिल्ला अधिकारी केसीले बताए।
शनिबार साँझ फेरि हिउँ परेको छ। जसले गर्दा त्यहाँ पुग्न पनि कठिन भएको जनाएको छ।
हिमपात र हिमपहिरो गएपछि शुक्रबार अन्नपूर्ण र माछापुच्छ्रे आधारशिविरलगायतका हिमाली क्षेत्रबाट पर्यटकलाई उद्धार गरिएको थियो। कास्कीका प्रमुख जिल्ला अधिकारी केसीका अनुसार, शुक्रबार ५१ कोरियन, १४ चिनियाँ, पाँच सिंगापुरे, दुई अस्ट्रेलियन र एक साल्भाडोरका नागरिकलाई उद्धार गरिएको थियो।
त्यस्तै, उनीहरूसँगै गएका नेपाली गाईड, भरिया र स्थानीय वासिन्दालार्य पनि उद्धार गरिएको थियो।











