ए डिभिजन लिग फुटबल : चर्च ब्वाइज र मछिन्द्रले खेले गोलरहित बराबरी
च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र १० खेलाडीमा समेटिएको मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन्।
काठमाडौं, चैत ३ : राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेड र मछिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अंक बाडेका छन्।
च्यासल मैदानमा शुक्रबार भएको खेलमा चर्च ब्वाइज र १० खेलाडीमा समेटिएको मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन्।
खेलको ४१ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि मछिन्द्र १० खेलाडीमा समेटिएको थियो। चर्च ब्वाइजका जोसेपलाई फउल गरेपछि रेफ्री नवीन्द्र महर्जनले पुजनलाई रातो कार्ड देखाएका थिए। यस बराबरीसँगै चर्च ब्वाइजले ५ खेलमा ११ अंक जोडेको छ।
मछिन्द्रले ५ खेलमा ५ अंक जोडेको छ। त्यस्तै शुक्रबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले थ्री स्टार क्लबलाइ पराजित गरेको छ। एन्फा कम्प्लेक्समा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै जावलाखेलले तेस्रो जित निकालेको हो।
जावलाखेलको जितमा एन्कोटो मासोबीले खेलको १६ औं मिनेटमा निर्णायक गोल गरे। जितसँगै जावलाखेलले ५ खेलमा १० अंक जोडेको छ। थ्री स्टारले ५ खेलमा ७ अंक जोडेको छ।











