सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउ : कांग्रेस
काठमाडौं, माघ ३ : प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेको छ।
शुक्रबार संसदीय दल....

काठमाडौं, माघ ३ : प्रमुख प्रतिपक्षी कांग्रेसले सभामुखको निर्वाचन प्रक्रिया तत्काल अघि बढाउन सरकारलाई आग्रह गरेको छ।
शुक्रबार संसदीय दलको कार्यालय सिहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख निर्वाचनलाई देखाएर संसद अवरुद्ध गरिराख्नु सत्तारुढ नेकपाको अकर्मण्यता भएको पनि ठहर गरेको छ।
‘संसदमा अल्पमतमा रहँदा विभिन्न वहानामा संसद अवरोध गर्ने र स्पष्ट बहुमत रहँदा आफूहरु बीचको आन्तरिक विवादलाई केन्द्रीय विषय बनाएर संसदीय परिपाटीको धज्जी उडाउने क्रियाकलापबाट नेकपाको संसदीय व्यवस्थाप्रतिको आस्थामा गम्भीर प्रश्न चिन्ह खडा भएको छ’ बैठकपछि जारी बिज्ञप्तिमा भनिएको छ।
बैठकले संविधान अनुसार प्रतिनिधिसभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलबाट प्रतिनिधित्व हुने व्यवस्था अक्षरस पालना गर्न पनि सत्तारुढ दललाई आग्रह गरेको छ।
बैठकले अमेरिकन सरकारको अनुदान मेलिनियम च्यालेन्ज करपोरेशन (एमसीसी) तत्काल संसदबाट अनुमोदन गराएर काम अघि बढाउन पनि सरकारलाई आग्रह गरेको छ। ‘नेपाली कांग्रेसको नेतृत्वका सरकारले एमसीसीको अनुदान सहयोगमा हस्ताक्षर गरेको हो’ बैठकपछि सांसद सुरेन्द्र पाण्डेले भने, ‘नेपालको ठूलो अनुदान रकम भएकाले तत्काल यसलाई संसदबाट अनुमोदन गराउन बैठकले सत्तारुण दललाई आग्रह गरेको छ।’
बैठकले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदबारको पक्षमा मतदान गर्न पनि सबै राजनीतिक दलका प्रतिनिधिहरुलाई आग्रह गरेको छ।











