सत्य निरुपण ऐनबारे बालुवाटारमा यस्तो बन्यो सहमति
काठमाडौं, माघ ३ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभा....

काठमाडौं, माघ ३ : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी विधेयक चाँडै ल्याउने सहमति भएको छ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चालू संसद्को अधिवेशनबाट विधेयक ल्याएर शान्ति प्रक्रियाबाट बाँकी काम टुङ्ग्याउने सहमति भएको नेकपा संसदीय दलका उपनेता सुभाष नेम्बाङले बताए।
‘विधेयकका सम्बन्धमा सातै प्रदेशबाट छलफल भई सुझाव आइसकेको छ,’ नेम्वाङले भने, ‘त्यही सुझावका आधारमा यही संसद्को अधिवेशनबाट आयोगसम्बन्धी कानून ल्याउने सहमति भएको छ।’
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले छलफल सकारात्मक भएकाले शनिबार पुनःआयोगका सम्बन्धमा छलफल हुने बताए। छलफलमा नेकपाका नेता नेम्बाङ, खिमलाल देवकोटा, कांग्रेस नेता डा.मिनेन्द्र रिजाल, रमेश लेखकलगायत सहभागी रहेका थिए।
गत चैत मसान्तदेखि आयोग पदाधिकारीविहीन हुँदा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गिन सकेका छैनन्। पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा दुवै आयोगका पदाधिकारी सिफारिस समिति गठन गरिएको छ।
उक्त समितिले अहिलेसम्म पनि नयाँ पदाधिकारी नाम सरकारलाई सिफारिस गर्न सकेको छैन। जसका कारणले सरकारले ती दुई आयोगमा पदाधिकारी नियुक्त गर्न नसकेको जनाएको छ।











