स्वीट्जरल्यान्डको जुरिच एयरपोर्ट हेर्ने कम्पनीसँग निजगढ विमानस्थल निर्माणको प्रस्ताव माग
काठमाडौं, माघ ३ : बाराको निजगढमा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि लगानी बोर्डले प्रस्ताव माग गरेको छ।
शुक्रबार बोर्डले विमा....

काठमाडौं, माघ ३ : बाराको निजगढमा प्रस्तावित अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि लगानी बोर्डले प्रस्ताव माग गरेको छ।
शुक्रबार बोर्डले विमानस्थल निर्माणको लागि स्विटजरल्यान्डको ज्युरिच एयरपोर्ट इन्टरनेसनल एजीलाई प्रस्ताव पेस गर्न सूचना जारी गरेको हो। बोर्डले जारी गरेको सूचनामा सार्वजनिक निजी साझेदारी तथा लगानी ऐनको दफा २५ बमोजिम उक्त कम्पनी छानिएको जनाएको छ।
निजगढ विमानस्थल निर्माणको लागि सातवटा कम्पनीमध्ये जुरिच छानिएपछि बोर्डले कम्पनीसँग प्रस्ताव माग गरेको हो। जुरिचलाई फागुन १८ गतेसम्म लगानी बोर्डमा आवश्यक प्रस्तावसम्बन्धी कागजात पेश गर्न भनिएको छ।
स्विट्जरल्यान्डस्थित जुरिख विमानस्थलको स्वामित्व तथा व्यवस्थापन गर्ने कम्पनी ज्युरिच एयरपोर्ट एजी हो। यसको माउ कम्पनी फ्लुखाफन ज्युरिच एजी हो। यसले २० वर्षदेखि युरोप, दक्षिण अमेरिका तथा एशियाली देशहरुका ठूला अन्तर्राष्ट्रिय विमानस्थलहरु निर्माण, सञ्चालन तथा सेयर स्वामित्व लिएर काम गर्दै आएको छ।
सरकारले गत वर्ष चैतमा लगानी सम्मेलन गरी निर्माण गर्न इच्छुकलाई प्रस्ताव माग गरेको थियो। ज्युरिचसहित विमानस्थल निर्माणका लागि म्याट्रिक्स इन्टरप्राइजेज नेपाल, चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप, चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी, भारतको जीएमआर, कतार एयरवेज र फ्रान्सको भिन्सी ग्रुपले इच्छा देखाउँदै प्रस्ताव पेश गरेका थिए। यसमा लगानी बोर्डले सातमध्ये ६ वटा प्रस्तावकले मापदण्ड नपुगेको ठहर गरेको छ।
निजगढ विमानस्थल सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्ने निर्णय बोर्डले गरिसकेको छ।
यसअघि उक्त विमानस्थल बुट प्रणाली वा पीपीपी मोडलमा बनाउने भनिएको थियो। यसको लागत झण्डै तीन खर्ब ४० अर्ब रुपैयाँ हुने अनुमान छ।
विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्याकंन प्रतिवेदन स्वीकृत भइसकेको छ। तर, सर्वोच्च अदालतले विमानस्थलको काम रोक्न अन्तरिम आदेश जारी गरी सरकारसँग लिखित जवाफ माग गरेको छ।











