Kathmandu Press

लमजुङमा विद्यालय भवन हस्तान्तरण

आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उहाँहरुले हस्तान्तरण गरेका हुन्।
लमजुङमा विद्यालय भवन हस्तान्तरण

लमजुङ, चैत २ : समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गरेका छन्। 

आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उहाँहरुले हस्तान्तरण गरेका हुन्।

Hardik ivf

२००६ सालमा भाषा पाठशालाका रुपमा स्थापना भएको सो विद्यालयले विसं २०३४ मा माध्यामिक विद्यालयको स्वीकृति पाएको थियो। हाल कक्षा १२ सम्म सञ्चालन रहेको यस विद्यालयमा करिब चार सय विद्यार्थी अध्ययनरत छन्। 

भवन हस्तान्तरण समारोहमा प्रदेशसभा सदस्य डा टकराज गुरुङले विद्यालयको शैक्षिकस्तर अभिवृद्धि एवं गाउँमा सडक स्तरोन्नति र केन्द्रीय प्रसारण लाइन विस्तारलगायतका विकास निर्माणमा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए। 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद दवाडीको अध्यक्षतामा भएको सो कार्यक्रममा समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले गाउँको शैक्षिक विकासमा योगदान दिनुहुने बुवाको स्मरणमा विद्यालय भवन निर्माण गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस किसिमको सहयोग गर्दै जाने बताए। 

विद्यालयका प्रधानाध्यापक हरिनारायण दवाडीले विद्यालय स्थापनादेखि मावि सञ्चालन गर्न आवश्यक जग्गा उपलब्ध गराउने र स्वीकृति दिलाउन तत्कालीन प्रधानपञ्च एवं समाजसेवी चूडामणि दवाडीले सक्रिय नेतृत्व लिनुभएको स्मरण गर्नुभयो। सो अवसरमा राष्ट्रियस्तरका कलाकारद्वारा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।

यसअघि सोही विद्यालयका शिक्षक स्व चेतोनाथ अधिकारीको स्मृतिमा उनको परिवारले रु छ लाखको लगानीमा विद्यालय हाताभित्र सरस्वतीको मन्दिर पनि निर्माण गरेको छ। 

प्रकाशित मिति: १२:४५ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्