Kathmandu Press

चीनतिरबाट सगरमाथा आधारशिविरमा जान पर्यटकलाई रोक 

काठमाडौं, फागुन ३ : चीनले फोहोर सफाइका लागि भन्दै  तिब्बततिर पर्ने सगरमाथा आधारशिविरमा जान पर्यटकहरुलाई बन्देज लगाएको छ । आधारशिविर क्षेत्र वरपर ....

चीनतिरबाट सगरमाथा आधारशिविरमा जान पर्यटकलाई रोक 
फाईल फोटो

काठमाडौं, फागुन ३ : चीनले फोहोर सफाइका लागि भन्दै  तिब्बततिर पर्ने सगरमाथा आधारशिविरमा जान पर्यटकहरुलाई बन्देज लगाएको छ । आधारशिविर क्षेत्र वरपर धेरै फोहोर जम्मा भएकोले त्यसलाई सफा गर्न र थप फोहोर हुन नदिन अनिश्चितकालका लागि यस्तो कदम चाल्न बाध्य भएको चिनियाँ अधिकारीहरुको भनाइ बीबीसीले उद्धृत गरेको छ । सगरमाथा चढ्न जाने पर्यटकहरुलाई भने यो प्रतिबन्ध लागु हुने छैन । 

बिहीबार सिन्ह्वालाई सरकारी अधिकारीले बताए अनुसार सगरमाथा चढ्ने अनुमति नपाएका पर्यटकहरु अब करिब ५ हजार मिटरको उचाइमा रहेको रोङ्पो गुम्बासम्म मात्र जान पाउनेछन् । तिब्बततिरबाट सगरमाथा चढ्न अनुमति पाएकाहरु भने ५ हजार २ सय मिटरमा रहेको आधार शिविर वा त्यो भन्दा माथि जान पाउनेछन् । त्यसरी आधारशिविर जान पाउनेहरुले पनि वातावरण सफा राख्न ध्यान दिनुपर्ने छ । 

चीनतिरबाट सगरमाथासम्म आधारशिविर सम्म कारमा पुग्न सकिने गरी सजिलो छ । नेपालतिरबाट सगरमाथाको आधारशिविर पुग्न पैदल  यात्रा गर्नुपर्ने भए पनि धेरै पर्यटक नेपालतिरबाटै जाने गर्छन् । हालैका वर्षहरुमा चीन र नेपाल दुवैतिरका सगरमाथा आधारशिविर पुग्ने पर्यटकहरुको संख्या ह्वात्तै बढेको छ । चिनियाँ पर्वतारोहण संघका अनुसार सन् २०१५ मा चीनतिरबाट ४० हजार पर्यटक सगरमाथा आधारशिविर पुगेका थिए । नेपालतिरबाट २०७३ (२०१६–१७) मा सगरमाथा आधारशिविर जाने पर्यटकको संख्या ४५ हजार पुगेको थियो । दुवैतिरबाट जाने पर्यटकहरुका कारण त्यहाँको वातावरण र संस्कृतिमा प्रतिकुल प्रभाव समेत परेको छ । 

प्रकाशित मिति: १६:१९ बजे, शुक्रबार, फागुन ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्