कर्णालीसहित उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात
काठमाडौं, माघ ३ : कर्णालीसहित उच्च पहाडी र हिमाली क्षेत्रमा फेरि हिमपात सुरू भएको छ। बिहानदेखि हिउ पर्न थालेको स्थानीय वासिन्दाले बताएका छन्।
<....
काठमाडौं, माघ ३ : कर्णालीसहित उच्च पहाडी र हिमाली क्षेत्रमा फेरि हिमपात सुरू भएको छ। बिहानदेखि हिउ पर्न थालेको स्थानीय वासिन्दाले बताएका छन्।
विशेष गरेर हुम्ला, डोल्पा, मुगु, जुम्लामा हिमपात भइरहेको छ। जाजरकोट, रुकुम (पश्चिम) र कालीकोटको उच्च पहाडी भागमा पनि हिमपात भइरहेको जनाएको छ।
बिहानैदेखि हिउँ पर्न थालेसँगै जनजीवन प्रभावित भएको हुम्लाका जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी दत्तराज हमालले बताए। ‘बिहानैदेखि हिउँ परिरहेको छ। नागरिकलाई यस्तोवेला यताउता यात्रामा नजान सुझाएका छौं,’ उनले भने।
हिमपातले गर्दा लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन्। त्यस्तै, हवाई यातायात पनि दुई दिनदेखि ठप्प छ।
हिमपातसँग चिसो पनि बढेको छ। हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जुम्लाको आजको तापक्रम माइनस दुई डिग्री सेल्सियसमा झरेको छ।
त्यस्तै, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात हुन थालेको छ। अन्य क्षेत्रमा पनि हिमपात हुनसक्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार, आज दिनभर देशभर वर्षा हुनेछ। त्यस्तै, पश्चिमी र मध्य पहाडी क्षेत्रमा हिमपात हुनेछ। केही स्थानमा हिमपात हुन थालेको महाशाखाले जनाएको छ।











