ओखलढुंगामा तीन वर्षमा एक्काइस दुर्घटना
पछिल्लो तीन वर्षमा २१ सवारीसाधन दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन्।
ओखलढुंगा, फागुन २९ : ओखलढुंगामा सवारीसाधन दुर्घटनाका घटना बढेका छन्। विगतको तुलनामा पछिल्ला वर्षमा जिल्लामा सवारीसाधन दुर्घटना हुने क्रम बढ्दो छ। पछिल्लो तीन वर्षमा २१ सवारीसाधन दुर्घटनामा परी २६ जनाको ज्यान गएको छ भने ७० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको थियो। आव २०७८/७९ मा नौ सवारीसाधन दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो भने ४० जना घाइते भएका थिए। चालु आव २०७९/८० मा १० सवारीसाधन दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने ३० घाइते भएका छन्। पछिल्लो समय सवारीसाधन दुर्घटना बढेका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले बताए।
कच्ची सडक, कोचाकोच यात्रु दुर्घटनाको कारक
यही फागुन २१ गते चिशङ्खुगढीको दियालेमा जिप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो। बाह्र जना घाइते भए।
खानीभञ्ज्याङबाट ओखलढुंगा सदरमुकाम आउँदै गरेको ना१ज ८४७३ नंको जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको थियो। दुर्घटनाको प्रमुख कारण कच्ची सडकमा कोचाकोच यात्रु बोक्नु नै हो। पाँचजनाको क्षमता भएको जिपमा १४ यात्रु थिए। अनियन्त्रित भइ जिप दुर्घटना भएको प्रहरी निरीक्षक देवेन्द्र दास बताउनुहुन्छ।
'सडक मापदण्ड अनुसारका छैनन्। जथाभावी खनिएका सडक साँघुरा, असाध्यै उकालो, ओरालो र घुम्ती नमिलेका छन्। यात्रु कोचेर बोक्ने चलन छ', उनले भने, 'गाउँगाउँका सबै सडकमा प्रहरी परिचालन गर्न सकिने अवस्था छैन।'
जिल्लाका आठवटै स्थानीय तहका ७५ वटै वडाका टोेलटोलमा सडक खनिएको छ। तर स्तरोन्नति नहुँदा जोखिमयुक्त सडकमै यात्रा गर्नुपर्ने जिल्लावासीको बाध्यता छ।
बिमा दाबी नहुँदा उपचारमा समस्या
क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटनामा परेका सवारीधनीले घाइतेको उपचार गराउन सकेका छैनन्। धेरैजसो सवारीधनी आफैँ चालक हुने, दुर्घटनामा चाकलसमेत घाइते हुने र सिट क्षमताअनुसार मात्रै बीमा हुने हुँदा समस्या भएको छ।
यात्रुले बीमाको सुविधा नपाउँदा खर्च अभावले उपचारमा समस्या हुन्छ। यसरी क्षमताभन्दा बढी यात्रु बोकेर दुर्घटना भएका सवारीसाधनले दुर्घटनामा मृत्यु भएकाका परिवारलाई क्षतिपूर्तिसमेत दिन सकेका छैनन्।
प्रायः सवारीले बीमा कम्पनीसँग चाकल, यात्रु र सडकमा ठोक्किन सक्ने परिस्थितिको समेत आङ्कलन गरेर तेस्रो पक्ष बीमा गर्ने र दुर्घटनामा परे उक्त बीमा दाबी गरेर पीडितलाई भुक्तानी गर्ने चलन छ। अझ कतिपय निजी प्रयोजनका लागि दर्ता भएका रातो नम्बर प्लेटका सवारीसाधनले भाडाका यात्रु बोक्ने र दुर्घटनाको बीमा दाबी नहुने समस्या छ।
सबैजसो चालकले नियम मान्नुको सट्टा ट्राफिक प्रहरीको आँखा छल्ने गरेका छन्। गाउँबाट सामान राख्ने ठाउँमा र छतमा समेत यात्रु राखेर ल्याउने चालकले सदरमुकाममा ट्राफिक देखिनुअघि नै यात्रु ओराल्ने गरेका छन्।












