Kathmandu Press

ललितको घातक बलिङमा युएई पराजित, नेपालको एकदिवसीय मान्यता जोगियो

नेपालले युएईलाई १७७ रनले पराजित गरेको छ । नेपालका लागि ललित राजवंशीले सर्वाधिक पाँच विकेट लिए ।
ललितको घातक बलिङमा युएई पराजित, नेपालको एकदिवसीय मान्यता जोगियो

काठमाडौं, फागुन २८ : ललित नारायण राजवंशीको घातक बलिङमा नेपाल युएईविरुद्ध १७७ रनले विजयी भएको भएको छ । यो जितसँगै नेपालको एकदिवसीय मान्यता जोगिएको छ । 

आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार २४९ रनको लक्ष्य पछ्याएको युएई २२ ओभरमै अल आउट हुँदै ७१ रनमात्रै बनाउँदा नेपालसँग पराजित हुन पुगेकाे हाे। 

युएईलाई सस्तोमा समेट्न ललित नारायण राजवंशीको बलिङ महत्वपूर्ण रह्यो । अलराउन्डर करण केसीलाई बेञ्चमा राखेर राजवंशीलाई मौका दिने निर्णय सही साबित भएको छ। आजको खेलमा ललित एक्लैले पाँच विकेट लिए।  

खेलको पहिलो ओभरमै विकेट लिएर उत्साहपूर्ण सुरुवात गरेका ललितले चौथो ओभरको चौथो बलमा युएईका कप्तान मोहम्मद वासिमलाई आउट गरेका थिए। उनले १६ औं ओभरको पहिलो बलमा आयान अफ्जल खानलाई आउट गरी आफ्नो तीन विकेट पुरा गरे । 

युएईको अन्तिम दुई विकेट बाँकी रहँदा २२ औं ओभर लिएर आएका राजवंशीले ओभरको दोस्रो बलमा जुनेद सिद्धिकी र पाचौं बलमा जहुर खानलाई आउट गरेपछि नेपाल १७७ रनले विजयी भएको हो ।

नेपालको शानदार जितमा सन्दीप लामिछानेले दुई विकेट लिए । उनले १३ औं ओभरमा रोहन मुस्ताफा र १७ औं ओभरमा जवर फरिदलाई आउट गरे । 

त्यस्तै  सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्सन झाले समान एकएक विकेट लिए ।

नेपाली बलरसामु निरीह देखिएका युएईका लागि आयान खानले सर्वाधिक २९ रन बनाए । ३३ बल खेलेका आयानले २ चौका र २ छक्का प्रहार गरे । त्यस्तै अश्वन भल्थापा र कार्थिक मैयाप्पनले क्रमश १४ र ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

जितसँगै नेपालले एकदिवसीय मान्यता जोगाएको छ। 

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको थियो । 
खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा ओपनर आशिफ शेख र कुशल भुर्तेललाई गुमाएको थियो । आशिफ दोस्रो ओभरमा शून्य रनमै आउट हुँदा कुशल भुर्तेल चौथो ओभरमा ८ रन बनाउँदै पवेलियन फर्केका थिए । 

आशिफको विकेटपछि क्रिजमा आएका कुशल मल्ल सातौं ओभरमा आउट हुँदा नेपाल दबाबमा थियो । चौथो ओभरमा कुशल भुर्तेलको विकेटपछि क्रिजमा आएका कप्तान रोहित कुमार पौडेलले उत्कृष्ठ पारी खेल्दा नेपाल पुनः लयमा फर्किएको थियो । 

कुशल सातौं ओभरमा आउट भएपछि त्रिजमा आएका भीम सार्कीले कप्तान रोहित पौडेलसँग उत्कृष्ठ साझेदारी निभाएका थिए । ३७ बल खेलेका सार्कीले  ४ चौका प्रहार गर्दै व्यक्तिगत २९ रनको योगदान गरे । 

कप्तान पौडेलले आजको खेलमा आफ्नो आठौं ओडिआई अर्धशतक पूरा गरे। उनले  ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रन बनाएपछि नेपाल खेलमा पुनरागमन ग¥यो । त्यस्तै आरिफ शेखले ४३ रन बनाएपछि नेपाल क्रमशः बलियो अवस्थामा पुगेको थियो । 

गुल्सन झा र दिपेन्द्र सिंह ऐरिको विस्फोटक ब्याटिङमा नेपालले २०० रनको योगफल पार गरेको थियो । झाले   ३२ बलमा ३७ रन बनाउँदा १ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै  १९ बल खेलेका दिपेन्द्र सिंह ऐरीले  १९ बलमा  ३ चौका र २ छक्का प्रहार गर्दै ३४ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बलिङतर्फ युएईका आयान अफ्जल खान, जहुर खान, रोहन मुस्ताफा र जहर फरिदले दुईदुई विकेट लिए । त्यस्तै आर्यन लाक्रा र जुनेद सिद्धिकीले एकएक विकेट लिए । 

प्रकाशित मिति: १५:२८ बजे, आइतबार, फागुन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्