देवघाटमा पाँच लाख भक्तजनले गरे स्नान
देवघाट, माघ २ : पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिको अवसरमा पाँच लाख भक्तजनले स्नान गरेका छन्।
तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थलमा ब....

देवघाट, माघ २ : पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिको अवसरमा पाँच लाख भक्तजनले स्नान गरेका छन्।
तनहुँ, चितवन र नवलपुरको सङ्गमस्थलमा बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले स्नान गरेको जनाएको छ। देवघाट क्षेत्र विकास समितिका अनुसार स्नान गर्न मङ्गलबार रातिदेखि नै भक्तजनको आगमन शुरु भएको थियो।
समितिका अध्यक्ष शिवराज पौडेलले भारतीय भक्तजन तीन हेलिकोप्टर लिएर देवघाट आएको बताए। ‘देवघाटको महत्व र गरिमालाई बुझेर देश तथा विदेशबाट आएका भक्तजनले मेला भरेका छन्,’ पौडेलले भने, ‘करीब पाँच लाख भक्तजन देवघाट आएको अनुमान छ।’
दामोदरकुण्डबाट बगेर आएकी कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आएकी त्रिशूली नदीको सङ्म देवघाटमा प्रत्येक वर्षको माघे सङ्क्रान्तिमा मेला लाग्ने गर्छ। मेला व्यवस्थापनका लागि समितिले तनहुँ, चितवन र नवलपुर जिल्लाका सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी कार्यालय तथा सरोकारवालासँग समन्वय गरेको थियो।
भक्तजनको सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो। यहाँ लाग्ने मेलालाई नेपालकै सबैभन्दा ठूलो मेलाको रुपमा लिइन्छ।
देवघाटधामको तीर्थलाई तीर्थहरुको पनि तीर्थ ‘महातीर्थ’ भन्ने गरिन्छ। बराहपुराण, स्कन्दपुराण र भागवतमा देवघाटको तीर्थको व्याख्या गरिएको छ। देवघाट क्षेत्र विकास समितिका अनुसार देवघाटमा ऋषि वशिष्ठ, विश्वमित्र, राजा जनक, राम र सीताले समेत तपश्या गरेको पुराणहरुमा उल्लेख छ।
रामले अश्वमेघ यज्ञ गरेको र सीताले धर्तीमा विलय भएको ठाउँ देवघाटलाई नै मानिन्छ। त्यस्तै पाल्पाका तत्कालीन राजा मणिमुकन्द सेनले देवघाटमै आई तपस्या गरेका थिए।
देवघाटमा मणिमुकुन्द सेन उद्यानसमेत छ। माघे सङ्क्रान्तिबाट ज्योतिषको गणनाअनुसार सूर्य धनु राशिबाट मकर राशिमा गएको र पद्मपुराणका अनुसार सूर्य मकर राशिमा गएको बेला देवघाटमा स्नान गर्नाले ठूलो पुण्य प्राप्ति हुने विश्वास रहँदै आएको छ। (रासस)











