Kathmandu Press

मेक्सिको सीमाको पर्खाल नाघ्नभन्दा सगरमाथा चढ्न सजिलो : ट्रम्प  

काठमाडौं, फागुन ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका– मेक्सिको सीमामा बन्ने पर्खाल नाघ्न सगरमाथा चढ्नभन्दा गाह्रो हुने बताएका छन् ।&n....

मेक्सिको सीमाको पर्खाल नाघ्नभन्दा सगरमाथा चढ्न सजिलो : ट्रम्प  

काठमाडौं, फागुन ३ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका– मेक्सिको सीमामा बन्ने पर्खाल नाघ्न सगरमाथा चढ्नभन्दा गाह्रो हुने बताएका छन् । 

बुधबार सुरक्षा र कानुन कार्यान्वयन गर्ने निकायका प्रमुखलाई सम्बोधन गर्दै ट्रम्पले सीमामा आवश्यक ठाउँमा नाघ्न नसकिने पर्खाल लगाइने कुरामा ढुक्क हुन आश्वस्त तुल्याएका थिए । ‘यो पर्खालबाट मानिसहरू सजिलै प्रवेश गर्न सक्दैनन् । यसलाई पार गर्न तपाईं एकदमै तन्दुरूस्त हुनुपर्छ । मेरो विचारमा उनीहरूले बरू सगरमाथा सजिलै चढ्न सक्नेछन्,’ ट्रम्पले भने, ‘पर्खाल अहिले निर्माण भइरहेको छ । यो एकदमै ठूलो छ, एकदमै बलियो हुन्छ ।’

अमेरिका र मेक्सिकोको सिमा

पछिल्लो समय पर्खालको विषयलाई लिएर अमेरिकी राष्ट्रपति निकै विवादमा छन् । केहीले उनलाई देशको हित नगर्ने, धेरै बोल्ने र श्वेत प्रभुत्व जमाउन खोजेको आरोप पनि लगाएका छन् ।
आफुलाई देशप्रति जिम्मेवार भएको उल्लेख गर्दै ट्रम्पले भने, ‘अमेरिका र यहाँको जनताको प्रतिरक्षा गर्ने मेरो पवित्र कर्तव्यबाट म कहिल्यै पछि हट््ने छैन । हामी यो काम पूरा गरेरै छाड्नेछौं ।’

सो अवसरमा अमेरिकालाई सुरक्षित राख्न कानूनमा भएका कमीकमजोरी हटाउँदै धेरैभन्दा धेरै कानून ल्याउनुपर्ने ट्रम्पले बताएका थिए ।

‘यी अन्तरदेशीय गिरोहलाई परास्त गर्न, हामीले सीमा पूर्ण रूपमा सुरक्षित गर्नुपर्दछ । त्यसको अर्थ हो – धेरैभन्दा धेरै कानूनको कार्यान्वयन गर्नु, कानूनमा भएका छिद्रहरू हटाउनु, समात्ने र छाड्ने काम बन्द गर्नु, उनीहरूलाई संरक्षण दिने शहर बन्द गर्नु र सीमाको पर्खाल चाँडो बनाउनु हो । जुन हामी गर्नेछौं, पक्कै गर्नेछौं ।’


यसबाहेक अमेरिका प्रवेश गर्ने नाकामा कडाइ गरिएको पनि उनले बताएका छन् । त्यसका लागि ड्रोन लगायत अत्याधुनिक प्रविधिको विशाल प्रयोग गरिएको उनले बताए ।

सन् २०१९ को आर्थिक वर्षमा संघीय सरकार सञ्चालन गर्न संसदमा प्रस्तुत गरिएको सरकारी खर्च सम्बन्धी विधेयकमा रिपब्लिकन पार्टीको बहुमत रहेको अमेरिकी कंग्रेस र रिपब्लिकन राष्ट्रपति ट्रम्प सहमत नहुदाँ अमेरिकी सरकार ३५ दिनसम्म बन्द भएको थियो ।

राष्ट्रिय आपतकाल लागु गर्ने ?

अमेरिकाको मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन चाहिने स्रोत जुटाउनका लागि राष्टपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय आपतकाल लागु गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतिको चुनावी अभियानका बेला अवैधानिक आप्रवासीलाई अमेरिका छिर्न नदिनका लागि अमेरिका र मेक्सिकोको सीमामा पर्खाल लगाउनु आफ्नो सबैभन्दा बढी प्राथमिकतामा परेका योजना मध्ये भएको बताएका थिए । आपतकाल घोषणा गरेका खण्डमा उनले अमेरिकी संसदका दुई सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधिसभा)को सहमति बिनानै पर्खाल बनाउन चाहिने श्रोत जुटाउन सक्नेछन् ।

उक्त पर्खाल बनाउन ८ अर्ब डलर खर्च चाहिने अनुमान अध्ययनहरुले गरेका थिए । नोभेम्बर २०१८ मा भएको अमेरिकी संसद कांग्रेसका दुई सदनको निर्वाचनपछि सिनेटमा रिपब्लिकन पार्टीको बहुमत कायम रहेपनि हाउस अफ रिप्रिजेन्टेटिभ (प्रतिनिधिसभा)मा विपक्षी डेमोक्रेटिक पार्टीको पकड बलियो हुन पुगेको थियो । अमेरिकी संसदका दुई सदनले पर्खाल बनाउन चाहिने खर्चमा कटौति गर्ने संभावना रहेकोले ट्रम्पले राष्ट्रिय आपतकाल घोषणा गरेर भए पनि खर्च जुटाउन चाहेका छन्  । 

आपतकाल घोषणा गरेपछि ट्रम्पलाई सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभको सहमति लिनुपर्ने छैन । साथै पर्खाल निर्माणका लागि चाहिने खर्च जुटाउन  सुुरक्षा खर्च लगायत अन्य शिर्षकबाट रकमान्तर  गर्न सक्नेछन् । ट्रम्पले यस्तो कदम चालेको खण्डमा विपक्षी डेमोक्रेटिक पार्टीले राष्ट्रपतिको निर्णयलाई चुनौति दिन कानुनी बाटो अबलम्बन गर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  

प्रकाशित मिति: १४:२५ बजे, शुक्रबार, फागुन ३, २०७५