ए डिभिजन लिग फुटबल : साबिक विजेता मच्छिन्द्रकाे लगातार दोस्रो हार
बिहीबार ललितपुरस्थित च्यासल मैदानमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै मछिन्द्रले लगातार दोस्रो हार बेहोरेको हो।
काठमाडौं, फागुन २५ : काठमाडौंमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा साबिक विजेता मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो हार बेहोरेको छ।
बिहीबार ललितपुरस्थित च्यासल मैदानमा त्रिभुवन आर्मी क्लबसँग २–० ले पराजित हुँदै मछिन्द्रले लगातार दोस्रो हार बेहोरेको हो। आर्मीलाई जित दिलाउन दीपक गुरुङ र नवयुग श्रेष्ठले एक एक गोल गरेका थिए। दीपकले खेलको ४८ औं मिनेटमा र नवयुगले ५९ औं मिनेटमा गोल गरेका थिए।
यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जावलाखेलले लगातार दोस्रो जित निकालेको छ।
जावलाखेलको जितमा कप्तान सिमान्त थापा र फोडे फोफानाले एक एक गोल गरे। एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए। खेलको ६८ औं मिनेटमा सिमान्तले गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाएका थिए।
खेलको ७७औं मिनेटमा फोफानाले गोल गर्दै जावलाखेल २–० ले अघि रह्यो। खेलको ८० औं मिनेटमा दोस्रो हाफमा मैदान छिरेका एनआरटीका सन्जिबले गोल गरे पनि जावलाखेल २–१ ले विजयी भयो।
जितसँगै जावलाखेलले २ खेलमा ६ अंक जोडेको छ। एनआरटीको यो लगातार दोस्रो हार हो। ए डिभिजन लिग अन्तर्गत शुक्रबार एन्फा कम्प्लेक्समा खुमलटार र थ्री स्टार तथा दशरथ रंगशालामा चर्च व्याइज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ।











