आसिफको शतकमा पिएनजीमाथि नेपालको जित
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए।
काठमाडौं, फागुन २५ : आईसिसी विश्वकप लिग–२को अन्तिम त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल विजयी भएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीमाथि ५२ रनको जित निकालेको हो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको २९८ रनको लक्ष्य पछ्याएको पिएनजी ४७.१ ओभरमा २४५ रनमै अलआउट भयो। पपुवा न्युगिनीका लागि टोनी उरा र नर्मन भानुआले अर्धशतकीय योगदान दिए।
विस्फोटक ब्याटिङ गरेका भानुआले ५५ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै सर्वाधिक ६० रन बनाए। उराले ३३ बलमा ९ चौका प्रहार गर्दै ५० रन बनाए।
यस्तै, कप्तान असद भालाले ५३ बलमा समान २ चौका र २ छक्का प्रहार गर्दै ४२ रन बनाए भने किप्लिन डोरिगाले २६ र रिलेइ हेकुरेले १७ बलमा २० रन बनाए।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा १ मेडनसहित ३७ रन खर्चिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले २ र कुशल मल्लले १ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले ओपनर आसिफ सेखको मेडन शतक मद्दतमा नेपालले एकदिवसीय क्रिकेटमा आफ्नो उच्च स्कोर बनाये । नेपालले ४९.१ ओभरमा अलआउट हुँदै २९७ बनायो । यो नेपालको एकदिवसीयको सर्वाधिक रन हो। यसअघि नेपालले गत महिना कीर्तिपुरमै नामिबियाविरुद्ध १८७ रन बनाएको थियो।
नेपाका लागि आसिफ १०१ बलमा आफ्नो पहिलो शतक पुरा गरेका थिए। सेमो कामेइको बलमा आउट हुनुअघि उनले ११० बलमा १२ चौका र २ छक्का प्रहार गर्दै ११० रन बनाए। यस्तै, कुशल मल्ले ५६ बलमा ४५ रन बनाए।
यो जितसँगै एकदिवसीय विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कामयै छ। सिरिजका बाँकी तीन खेलमा जित निकाल्न सके नेपाल लिग–२मा तेस्रो हुँदै एकदिवसीय विश्वकप छनोटमा पुग्ने छ।











