Kathmandu Press

विमानस्थलमा कडाइप्रति एनआरएनको आपत्ति

काठमाडौं, फागुन ३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएको नेपालीको सामान जफत गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएन) ले ....

विमानस्थलमा कडाइप्रति एनआरएनको आपत्ति

काठमाडौं, फागुन ३ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीबाट फर्किएको नेपालीको सामान जफत गरेको भन्दै गैर आवासीय नेपाली संघ (एनआरएन) ले आपत्ति जनाएको छ । श्रम गरेर फर्किएका नेपालीको निजी प्रयोग र उपहारलाई जफत गर्नु गलत भएको एनआरएनको भनाइ छ ।

विश्वका विभिन्न देशमा श्रम गरेर कमाएको रकमबाट वैदेशिक रोजगारीबाट घर फर्कने क्रममा नेपालीहरूले खरिद गरेर ल्याएका व्यक्तिगत प्रयोजन तथा उपहारका जिन्सी सामानहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जफत गरिएको सम्बन्धमा गम्भिर ध्यानाकर्षण भएको एनआरएनको विज्ञप्तीमा जनाएको छ ।

संघका प्रवक्ता भूषण घिमिरेले जारीगरेको विज्ञप्तिमा भनिएको छ, “लाखौं नेपालीले रगत पसिना बगाई कमाएर खरिद गरेका सामान तथा उपहारहरू जफत गर्दा सम्बन्धित व्यक्तिको आर्थिक क्षति हुने मात्रै नभई भावनामा पनि ठेस पुगेको छ ।”

त्यस्तै, एनआरएनले भनेको छ, “रेमिट्यान्समार्फत मुलुक कै अर्थतन्त्रमा योगदान दिइरहेका श्रमजीवी नेपालीहरूले घरयासी प्रयोगका लागि ल्याउने सामान समेत जफत गरेर आर्थिक र मानसिक यातनाको अनुभव गरिरहनु पर्ने अवस्थाले नेपालको सरकार, विमानस्थलका सम्बन्धित निकाय र त्यहाँ कार्यरत कर्मचारीहरूप्रति समेत नकारात्मक भावना उत्पन्न गरेको हामीले महशुश गरेको छौँ ।”

झिटीगुन्टा सम्बन्धमा बनेको नियमलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समय सापेक्ष बनाउनु पर्ने तथा नयाँ नियम लागू गर्नुभन्दा कम्तिमा ६ महिना अगावै सार्वजनिक रुपमा सूचना दिई कष्टमुक्त बनाउन प्रयास गर्नुपर्ने तथा जानअनजान तोकिएको हदसम्मका व्यक्तिगत प्रयोजन एवं परिवारका लागि ल्याइएका सामाग्री बिना झन्झट बिमानस्थलबाट पास गराउने व्यवस्था गर्न र कथमकदाचित तोकिएकोभन्दा बढी सामान ल्याएको पाएमा जफत गर्नुको सट्टा सहज रुपमा भन्सार तिरेर छुटाउन पाउने गरी व्यवस्था मिलाउन एनआरएनले आग्रह गरेको छ ।

तोकिएको नियम कानून आवासीय तथा गैरआवासीय हामी सबैले पालना गर्नुपर्नेमा दुईमत नभएको तर अहिलेसम्म कार्यान्वयनमा नरहेको नियम एकैचोटी कडाइका साथ लागू गर्दा समस्या आएको जनाएको छ ।

प्रवासबाट स्वदेश फर्कने नेपालीहरूले पूर्वसूचना नपाएका कारण नै दुःखकष्ट र क्षति बेहोर्नु परेको यथार्थता बुझिदिएर तत्काल सोही अनुसार कार्य गरिदिन सरकार र सम्बन्धित निकाय समक्ष गैरआवासीय नेपाली संघले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, फागुन ३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्