चिट्ठा परेको भन्दै दश लाख ठगी, आईएमई संचालक पक्राउ
धनगढी, माघ १ : चिट्ठा परेको भन्दै दश लाख रुपैयाँ ठगेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ।
नेपाल प्रहरीको टोलीले चिट्ठा परेको भन्दै ठगी गर्ने....

धनगढी, माघ १ : चिट्ठा परेको भन्दै दश लाख रुपैयाँ ठगेको आरोपमा सात जनालाई पक्राउ गरिएको छ।
नेपाल प्रहरीको टोलीले चिट्ठा परेको भन्दै ठगी गर्ने मोरङको सुन्दर हरैचाका आईएमई सञ्चालक इन्दिरा पुरी, मनमोहनबहादुर अधिकारी, विराटनगर सजिलो मनीट्रान्सफरका सञ्चालक विश्वनाथ राजवंशी, रङगेली नगरपालिकाका भवेशकुमार मण्डल र अब्दुल सलाम, भारतको बिहारका शतिष मण्डल र मोइसुलाई पक्राउ गरेको हो। उनीहरुले कैलालीको घोडाघोडी नगरपालिकाकी धनकला धामीलाई चिट्ठा परेको भन्दै दश लाख चार हजार ठगी गरेका थिए।
धनकलाले दिएको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय, मोरङको सहयोगमा सातै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले बताए। यो समूहले धनकलाबाट विभिन्न मितिमा दश लाख चार हजार लिएको भेटिएको छ।
सातै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच भारतको दिल्लीस्थित देवनगरका विश्वेश्वर अग्रवालको कार्यालयबाट नगद तथा गरगहना चोरीमा संलग्न रहेको आरोपमा कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रबाट तीन जनालाई पक्राउ गरिएको छ।
बाजुराको बुढिगंगाका जहरसिंह थापा, मनाकुमारी खड्का र चोरी भएको रकम लुकाउने कैलालीको गौरीगंगा नगरपालिकाकी बिन्दाकुमारी थापा रावललाई पक्राउ गरिएको हो। उनीहरुबाट ६५ लाख भारतीय रुपैयाँ पनि बरामद गरिएको छ।
भारतीय राजदूतावासको प्राप्त पत्रअनुसार खटिएको कैलाली प्रहरीको विशेष टोलीले गरेको अनुसन्धानका क्रममा गौरीगंगा नगरपालिकाकी बिन्दाको घरभित्र खाल्टो मुनी लुकाइ राखिएको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ फेला परेको डीएसपी बस्नेतले बताए। तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ।











