नेपाली विद्यार्थीले कोरियामा छात्रवृत्ति पाउने
काठमाडौं, फागुन ३ : सामाजिक कल्याणमा स्नातकोत्तर र विद्यावारिधी गर्ने नेपाली विद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल विश्वविद्यालयले छात्रवृत्ति दिने भएक....

काठमाडौं, फागुन ३ : सामाजिक कल्याणमा स्नातकोत्तर र विद्यावारिधी गर्ने नेपाली विद्यार्थीलाई दक्षिण कोरियाको नेमसोल विश्वविद्यालयले छात्रवृत्ति दिने भएको छ । यसका लागि विश्वविद्यालय र नेपाल पत्रकार मञ्चबीच काठमाडौंमा सम्झौता भएको छ ।
बुधबार भएको सम्झौताअनुसार, नेपाली जेहेन्दार विद्यार्थीलाई स्नातकोत्तर वा विद्यावारिधीका लागि पत्रकार मञ्चले सिफारिस गर्ने छ । विश्वविद्यालयका तर्फबाट अध्यक्ष डा.यून सियोङ योङ र मञ्चको तर्फबाट अध्यक्ष युवराज भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
मञ्चले गरेको सिफारिसका आधारमा विश्वविद्यालयले छात्रबृत्ति उपलब्ध गराउने छ । यससँगै पत्रकारको क्षमता विकास र वृत्ति विकासका कार्यक्रममा विश्वविद्यालयले सहयोग गर्ने छ ।
त्यस्तै, आपसी सहयोगमा कला, संस्कार तथा संस्कृतिको आदानप्रदान हुने, नेपालका विश्वविद्यालयसँग समन्वय गरेर नेमसोल विश्वविद्यालयले सामाजिक कल्याण विषयमा अध्ययनअध्यापन गराउने, पत्रकारलाई अन्तर्राष्ट्रिय रिपोटिङमा अभ्यस्त गराउन अवलोकन भ्रमणमा सहभागी गराउनेलगायतका बुँदा सम्झौतामा उल्लेख छन् ।
हस्ताक्षरपछि बोल्दै विश्वविद्यालयकी प्राध्यापक युन सिल किमले नेपालका विभिन्न समुदायमा गएर सामाजिक मनोविज्ञानका क्षेत्रमा अनुसन्धान गर्ने इच्छा ब्यक्त गर्दै यस प्रकारको काममा पत्रकार मञ्चको अगुवाई हुने कुरामा आफू विश्वस्त रहेको बताइन् । “हामी नेपालका ब्युटी एण्ड हेल्थ, स्पोर्टस एण्ड हेल्थ, चाइल्ड सोसल वेलफेयर जस्ता विषयमा अध्यापन गराउन चाहन्छौं । यसका लागि नेपालका शिक्षामन्त्रीसँग पनि भेट गरी सकेका छौं,” कार्यक्रमका बारेमा उनले भनिन्, “नेमसोलमा अहिले पनि सातजना विद्यार्थी अध्ययन गरिरहेका छन् । हामी जेहेन्दार विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति दिनेछौं ।”
कार्यक्रममा बोल्दै प्राध्यापक सिर्जना थापाले पत्रकारलाई शैक्षिक र व्यवसायिक सीपबाट स्तरीय पत्रकारिताका लागि सहयोग हुने बताइन् । मञ्चका अध्यक्ष युवराज बिद्रोहीले सम्झौता हुनु अघि नै मञ्चले सिफारिस गरेका एक जना विद्यार्थीलाई विश्वविद्यालयले छात्रवृत्ति दिएकोमा प्रशंशा गरे । उनले आउँदा दिनमा पढ्न चाहना हुने तर आर्थिक अभावले अन्तर्राष्ट्रिय विश्वविद्यालयको कल्पना पनि गर्न नसकेका विद्यार्थीलाई शून्य लगानीमा कोरियामा पढ्न सिफारिस गरिने बताए ।
पत्रकारको क्षमता विकास र सीप विकास स्थापना कालदेखिकै प्राथमिक कार्यक्रम भएको मञ्चका महासचिव बिमलकुमार थापाले बताए ।
मञ्चको अन्तर्राष्ट्रिय सम्बन्ध व्युरोका प्रमुख चन्द्रमणि भट्टराईका अनुसार अन्तरदेशीय सम्बन्धबाट नेपाली पत्रकारिताको स्थान उच्च बनाउन मञ्चले आपसी सहयोगका कार्यक्रम अघि बढाएको छ । यसका लागि अमेरिकामा शाखा गठन भइसकेको छ भने क्यानडा, पोर्चुगल र इङ्ल्याण्डमा आगामी तीन महिनाभित्र शाखा गठन हुनेछ ।











