Kathmandu Press

बेलायतकी कान्छी सांसदको कथा 

बिल्ली पेर्रिगो

डिसेम्बर ११ को साँझ नाडिया व्हिटोम अस्पताल भर्ना भएकी थिइन्। उनलाई ज्वरो आएको थियो। भोलिपल्ट संयुक्त अधिराज्यमा निर्वाचन हुँदै थियो।
न....

बेलायतकी कान्छी सांसदको कथा 

बिल्ली पेर्रिगो

डिसेम्बर ११ को साँझ नाडिया व्हिटोम अस्पताल भर्ना भएकी थिइन्। उनलाई ज्वरो आएको थियो। भोलिपल्ट संयुक्त अधिराज्यमा निर्वाचन हुँदै थियो।
निर्वाचनको परिणाम आयो। मात्रै २३ वर्षको उमेरमा व्हिटोम संयुक्त अधिराज्यकै सबैभन्दा कान्छी विधायक बनिन्। बिसञ्चो हुँदै उनले जितको भाषण पनि गरिन्।
“साह्रै नरमाइलो भयो,” उनले भनिन्।

अब उनी निको भइसकेकी छिन्। गत साता गृहनगर नटिङहमबाट उनी लन्डन आइन्। पहिलो पटक हाउस अफ कमन्समा बसिन्। औसत सांसदभन्दा उनको उमेर आधा कम छ। संसदमा उनीभन्दा भिन्न राजनीतिक प्राथमिकता भएका नेताहरू छन्।

Hardik ivf

सन् २००७र०८ को आर्थिक संकटले सार्वजनिक सेवाहरू कटौती भएको जमाना र जलवायु संकट बढिरहेको समया हुर्किएका नयाँ पुस्ताकी जनप्रतिनिधी हुन् व्हिटोम। उनीजस्तै युवा एलेक्जेन्ड्रिया ओकासियो¬ कोर्टेज कंग्रेसमा छिन् र ३४ वर्षिया सान्ना मरिन फिनल्यान्डकी प्रधानमन्त्री नियुक्त भएकी छिन्। व्हिटोमको राजनीतिलाई उनको पुस्तकाको जोखिमपूर्ण अवस्थाले आकार दिएको छ।

“खानलाई संघर्ष गर्ने मानिसबीच हामी हुर्कियौं,” उनले भनिन्,“मेरो उमेरका र मभन्दा सानाहरू जलवायु संकटको चिन्तासँगै हुर्किए। हामी बाँच्नलाई पृथ्वी नै हुने छैन।”

आप्रवासी “वर्किङ क्लास” छोरी व्हिटोम आफ्नो पुस्ताको राजनीति अघि बढाउन अब तयार छिन्। उनी भन्छिन्,“हाम्रो चुनौती विशाल छ। समाधान पनि उत्तिकै साहसिक र तत्कालै कार्यान्वयन हुनुपर्छ।”

व्हिटोमले आफ्नो पारिश्रमिकको ठूलो अंश ७९ हजार चार सय ६८ पाउन्ड स्थानीय च्यारिटीलाई दिने घोषणा गरेकी छिन्। कर कटाएर उनले ३५ हजार पाउन्ड मात्रै पाउनेछिन्। संयुक्त अधिराज्यको औसत पारिश्रमिक कर कट्टा हुनुअघि ३० हजार चार सय २० पाउन्ड छ। “मेरो विचारमा कामकाजी परिवारका प्रतिनिधीका लागि यो महत्त्वपूर्ण छ। म त्यही परिवारकी सदस्य हुँ। मैले पनि उनीहरूजत्तिकै पारिश्रमिक पाउनुपर्छ। सांसदले मात्रै ८० हजार पाउन्ड पाउनुपर्छ भन्ने छैन। अग्निनियन्त्रक, नर्स, शिक्षक र पसलमा काम गर्नेले पनि त्यतिनै पाउनुपर्छ। उनीहरूको पारिश्रमिक बढे मेरो पनि बढ्छ।”

व्हिटोम सन् १९९० को दशकमा जन्मिएकी हुन्। यो एउटा ऐतिहासिक समय थियो जब बेलायतको “वेलफेयर स्टेट” विपरीत दिशामा तानिएको थियो। दोश्रो विश्वयुद्धपछि राज्य ठूलो हुनुपर्छ भन्ने सहमति बन्यो। विपन्नलाई स्वास्थ्यसेवा, आवास र सुविधा प्रदान गर्ने गरी सामाजिक सुरक्षा बलियो हुनुपर्छ भन्ने मान्यता थियो। प्रधानमन्त्री मार्गरेट थ्याचरको पालामा पनि बेलायतको कल्याणकारी नीति विश्वकै उदार मानिन्थ्यो। व्हिटोमको सुरूआती १३ वर्षमा लेबर सरकारको शासन थियो। थ्याचरले पुर्‍याएको क्षति उल्ट्याउन पार्टीले सामाजिक कार्यक्रममा निकै लगानी गर्‍यो। तर सन् २०१० मा लेबर पार्टीलाई हराउँदै कन्जर्भेटिभ पार्टीको नेतृत्वमा गठबन्धन सरकार बन्यो। सार्वजनिक खर्च घटाउनलाई बजेटको अभाव कम गर्ने र सन् २००८ को आर्थिक संकटबाट उकासिने एक मात्रै उपाय भएको उक्त सरकारले तर्क गर्‍यो।

“लेबर सरकारको शासनबारे मलाई राम्रोसँग थाहा छ। मलाई दिइएको अवसर पनि राम्रोसँग बुझेकी छु। अकस्मात यो अप्ठ्यारो परिवेशमा म धकेलिएँ,” व्हिटोमले भनिन्। विश्व आर्थकि मन्दीका कारण संसारभरिका देशले पनि सार्वजनिक खर्च घटाए। तर बेलायतको कटौती विकसित अर्थतन्त्रमध्ये धेरै थियो। 

एकल अभिभावक भएको घरमा हुर्किएको अश्वेत महिला व्हिटोमको जीवनमा तत्कालीन नीतिले तुरून्तै प्रभाव देखाउन थाल्यो। कथित “बेडरूम ट्याक्स” ले उनलाई राजनीतिमा संलग्न गराएको व्हिटोमले बताइन्। सामाजिक आवासको अभाव समाधान गर्न कन्जर्भेटिभ पार्टीको गठबन्धन सरकारले नयाँ नीति ल्यायो। सार्वजनिक आवासमा अतिरिक्त कोठा भएका बहालवाला राज्यले दिएको सुविधा कटौती गर्न बाध्य भए। उनीहरू सानो आवासमा जान बाध्य भए। “बेडरूम ट्याक्स” ले सबैभन्दा जोखिममा भएकाहरू बढी प्रभावित भए। करले प्रभावित ६ प्रतिशत मात्रै घर सरे तर तीमध्ये ७५ प्रतिशतले खाना खर्च कटौती गर्न बाध्य भएको बताए।

व्हिटोम भन्छिन्,“मेरो समुदाय, मेरा साथीभाइ, परिवार, छिमेकीको अवस्था देखेर सरकार विरूद्ध संगठित हुन प्रेरणा मिल्यो।”

सन् २०१५ को निर्वाचनपछि कल्याणकारी नीतिसम्बन्धी बहस कन्जर्भेटिभले जितेजस्तो देखिन्थ्यो। प्रतिपक्षी लेबर पार्टीले केहि कल्याणकारी खर्च कटौती गर्नु आवश्यक भएको तर्क गर्‍यो। चुनाव जिते केहि कटौतीलाई नउल्ट्याउने पार्टीले वाचा गर्‍यो। लेबर पार्टीको हार भएपछि नेता एड मिलिब्यान्डले राजीनामा दिए। उनको स्थानमा खासै नचिनिएका जेरेमी कोर्बिन उठे। उद्योगको राष्ट्रियकरण र कर वृद्धिजस्ता नीति समर्थन गरेकोमा धेरै लेबर विधायकले उनको आलोचना गरे। सन् १९९० को दशकमै पार्टीले ती नीति बहिष्कार गरेको थियो। पार्टीको आन्तरिक चुनावमा कोर्बिनले हार्ने पूर्वानुमान थियो। तर सेप्टेम्बर २०१५ मा उनी निर्वाचित भए। उनले पूर्वाधार, समाजकल्याण र स्वास्थ्यमा राज्यको लगानी गर्ने नीति ल्याए। कन्जर्भेटिभले ल्याएको साना सुधारलाई उल्ट्याए। व्हिटोमले कोर्बिनलाई समर्थन गरिन्। 

सरकारको मितव्ययी नीति, जलवायु परिवर्तन र आप्रवासीप्रति प्रतिकूल वातावरण विरूद्ध उनले नटिङ्हममा अभियान चलाउन थालिन्। अक्टोबर २०१९ मा उनले पार्टीकोतर्फबाट सांसदको टिकट पाइन्। व्हिटोम ६४।३ प्रतिशत मत ल्याएर सजिलै निर्वाचित भइन्। अहिले कन्जर्भेटिभ पार्टीबाट बोरिस जोनसनले बहुमतका साथ नेतृत्व गरिरहेका छन्। लेबर पार्टीका लागि यो सन् १९३५ यताकै सबैभन्दा लज्जास्पद हार थियो। कोर्बिनले नयाँ वर्षदेखि पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गरे। व्हिटोमले यसमा कोर्बिन वा पार्टीको आर्थिक नीति नभएर ब्रेक्जिट र लेबर पार्टीको निर्वाचन अभियान रणनीतिको भूमिका भएको बताइन्।

पार्टीका अन्यले असहमति जनाएका छन्। तर पार्टीको भविष्य अब अनिश्चित छ। नयाँ नेतृत्व चयन गर्ने अभियान औपचारिक रूपमा सुरू भएको छैन। उम्मेदवार भने सक्रिय छन्। व्हिटोम संलग्न वामपन्थी दलमा विभाजन देखिएको छ।

पृथ्वीलाई लिएर व्हिटोम खासै सकारात्मक छैनन्। कन्जर्भेटिभ पार्टीले बेलायती अर्थतन्त्रलाई सन् २०५० सम्म कार्बनमुक्त बनाउने प्रतिबद्धता जनाएको छ। लेबर पार्टीको लक्ष्यभन्दा यो २० वर्ष पछि हो। 

व्हिटोमले भनिन्,“यो एकदमै टाढो छ। हामीले सन् २०३० सम्म लक्ष्य पूरा गर्नुपर्नेछ। कुन वर्ष हामी कार्बनमुक्त हुनेछौं भन्दा पनि सन् २०३० सम्म कार्बनमुक्त हुनलाई हामी के गर्छौं भन्ने मुख्य प्रश्न हो।” 

संसदमा उनले जलवायु संकटलाई प्राथमिकता दिने बताइन्। कान्छी सांसदको हैसियतले सरकारलाई अझ दबाव दिने उनको आशा छ। व्हिटोमका केहि प्रमुख चुनौतीहरू छन्। तर उनको पुस्ताले ल्याउने परिवर्तनबारे उनी आशावादी छिन्। “आजभोलिका युवा समाजिक रूपमा बढी उदार छन्। यस्ता मुल्यमान्यताहरू समयक्रममा हराएर जाने छैनन्।”
 

टाइम म्यागजिन 

प्रकाशित मिति: ०७:१८ बजे, बुधबार, माघ १, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्