Kathmandu Press

प्रदेश ५ नाम 'लुम्बिनी' र राजधानी 'बुटवल' प्राथमिकतामा

बुटबल, पुस २९ : प्रदेश ५ को नाम र राजधानीको यहि हिउँदे अधिवेशनबाट टुंगो लाग्ने भएको छ। यसका लागि प्रदेश सभाले बनाएको सम्भाव्यता अध्ययन समितिले बुझाएको....

प्रदेश ५ नाम 'लुम्बिनी' र राजधानी 'बुटवल' प्राथमिकतामा

बुटबल, पुस २९ : प्रदेश ५ को नाम र राजधानीको यहि हिउँदे अधिवेशनबाट टुंगो लाग्ने भएको छ। यसका लागि प्रदेश सभाले बनाएको सम्भाव्यता अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई आधार बनाइने भएको छ।

प्रदेश ३ को राजधानी र नामकरणको टुङ्गो लागेसँगै प्रदेश ५ को पनि नाम र राजधानीको चर्चा सुरू भएको हो। प्रदेश ३ को नाम बागमती र राजधानी हेटौँडा रहने प्रस्ताव प्रदेशसभाले आइतबार पारित गरेको हो।

प्रदेश ५ को हिउँदे अधिवेशन माघ ५ गते सुरू हुँदैछ। प्रदेश सभाको यो अधिवेशनले प्रदेशको नामकरण र राजधानीको विषय टुङ्गो लगाइने नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए। ‘लामो समय भएका कारण राजधानीको विषयले चर्चा पाउनु स्वभाविक हो,’ मंगलबार बुटवलमा आयोजित साक्षात्कारमा ढकालले भने, ‘प्रदेशसभाको पाँचौं अधिवेशनबाट यसको छिनोफानो हुन्छ।’

यस अघि प्रदेश सभाबाट गठित राजधानी विशेष समितिले पनि प्रतिवेदन बुझाइसकेको छ। अब प्रदेश सभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने उनले बताए।
प्रदेशका जनतालाई पायक पर्ने र जनताको भावनाको कदर हुने हिसाबले प्रदेशसभाले राजधानीको विषय टुङ्गो लगाउने प्रमुख सचेतक ढकालको भनाइ छ। ‘अहिले राजधानी तय गर्दा हाम्रा सन्ततिले पनि हामीप्रति गर्व गर्ने किसिमले निर्णय गर्नुपर्छ,’ उनले भने।

राजधानी विशेष समितिले प्रदेशको स्थायी राजधानी कहाँ राख्ने विषयमा प्रदेशका १२ वटै जिल्लामा पुगेर जनताको राय–सुझाव लिएको छ। समितले प्रतिबेदन बुझाइसकेकाले अबको प्रदेशसभाको बैठकमा प्रतिवेदनमाथि छलफल हुने नेपाली कांग्रेसका सचेतक तथा विशेष समितिका सदस्य निर्मला क्षेत्रीले बताइन्।

स्थायी राजधानी र नामकरणका लागि भनेर नै प्रदेशसभाले विशेष समिति गठन गरेकाले समितिले दिएको सुझावका आधारमा राजधानी र नामाकरणको टुङ्गो लाग्ने उनको भनाइ छ।

अब नयाँ ठाउँमा राजधानी बनाउँदा प्रदेशले आर्थिकभार थेग्न नसक्ने भएकाले अस्थायी मुकामलाई नै स्थायी बनाउन राम्रो हुने उनले बताइन्। ‘राजधानी तोक्न धेरै ढिलो हुँदा जनतामाझ जान लाज भएको छ, अबको बैठकबाटै यसको टुङ्गो लगाउनुपर्छ,’ उनले भनिन्।

नामका विषयमा धेरै विवाद नरहेको उनले बताइन्। लुम्बिनी नामकरणका विषयमा सहमति जुट्ने उनको भनाइ छ।

प्रदेशको राजधानी रुपन्देही र नामकरण लुम्बिनी नै राख्न प्रदेशसभामा प्रतिनिधित्व गर्ने समाजवादी पार्टीको सुझाव छ। गौतम बुद्धको पवित्र भूमि भएका कारण यही ठाउँमै राजधानी राख्नुपर्ने समाजवादी पार्टीका प्रमुख सचेतक सन्तोष पाण्डेको तर्क छ। प्रदेशको राजधानीका लागि रुपन्देही नै उपयुक्त रहेकाले अन्य ठाउँबारे बहस गर्नु नै आवश्यक नभएको सचेतक पाण्डेको भनाइ छ।

प्रदेश सभाले गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा पनि नाम लुम्बिनी र राजधानी बुटबललाई प्राथमिकतामा राखिएको स्रोतले जनाएको छ। समितिका एक सदस्यका अनुसार, अन्य नाम सिफारिस भएपनि राजधानीका लागि बुटबल र नाम लुम्बिनीलाई प्राथमिकता दिइएको छ।

प्रदेशसभाका ८७ सदस्यले राजधानी र नामकरण गर्नेछन्।

प्रकाशित मिति: १७:१० बजे, मंगलबार, पुस २९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्