‘जामुनको रुख’ : कंकाल बनाउने व्यवस्थाकाे चिरफार
काठमाडौं, पुस २९ : शरीरबाट प्राण छुट्न लागेको मानिसको श्वाससँग पनि कत्तिसम्म राजनीति गरिन्छ? यहि प्रश्नको जवाफ छर्लङ पार्ने प्रयास ‘जामुनको रुख&....

काठमाडौं, पुस २९ : शरीरबाट प्राण छुट्न लागेको मानिसको श्वाससँग पनि कत्तिसम्म राजनीति गरिन्छ? यहि प्रश्नको जवाफ छर्लङ पार्ने प्रयास ‘जामुनको रुख’ नाटकमा देख्न सकिन्छ।
सरकारी कार्यालयअघि चौर नै ढाक्ने गरी बुढो जामुनको रुख ढल्दा हिड्दै गरेको एक युवकलाई थिच्छ। काम गर्दै आएका माली र कुचिकारले उक्त दृश्य देख्ने वितिक्कै आत्तिएर हाकिमलाई सुनाउँछन्। हाकिम रुखमुनि छट्पटाइरहेको युवकको उद्वार गर्नुभन्दा जामुन फल अब खान नपाइने भन्दै बिलौन गर्न थाल्छन्।
सरकारी रुख भएकोले यसलाई माथिल्लो निकायमा लैजानु पर्छ भनी उनी फाइल लगेर देखाउँछन्। बाणिज्य विभाग यो रुख ढलेको केश रहेछ भनी कृषि विभागमा उक्त पाइल पेस गराउँने आदेश दिन्छ। कृषि विभागमा दिउँसै निदाइरहेका हाकिमका अघि पुगेको फाइलको अर्थ रहदैन्।
रुखमा च्यापिएका युवक आफू बाच्न पाउछु भन्ने नलागेपछि भन्छन्, ‘सब ठीक हुनेछ। आगो खरानी हुनेछ, खरानी ढुवानी हुनेछ, श्वास रहुन्जmे मोज हुनेछ, श्वास उठेपछि भोज हुनेछ...।’ उनको चित्कारलाई पत्रकारको एक जमातले कवि भनेर समाचार फैलाउँछन्। मर्न लागेको युवक कवि रहेको थाहा पाई संस्कृत विभागका कर्मचारी आफ्नो एकेडेमीमा सदस्यता लिने भए जीवन विमा गराईदिने तर्क गर्छन्।
फलफूल विभागले रुख काट्दा हुने असरको जिम्मेवारी स्वयं युवक नै रहने गरी रुख काट्न मिल्ने जनाउँछ। युवकको पीडामा माली र कुचिकार रोईकराई गर्छन्।
यसरी उच्च आहोदामा आसिन व्यक्तिहरुको तुच्छ व्यवहारप्रति उनीहरुले आक्रोश पोख्न खोज्छन्, तर सुन्न सक्ने कुनै भेटिदैनन्। त्यही चौरमा उनीहरुको हारगुहार विलिन हुन पुग्छ।
इन्स्पेक्टरको टोली मर्महात भएको घाइते युवकको शिरमाथि यताउता गरेर किनार लाग्छ। मुखमा माक्स लगाएर आएका डाक्टरले जिवित र मृत चिज छुटाउन नसक्दा ढलेको रुख युवकलाई कुरेर बसेको मालिको धड्कन जाचेपछि बल्ल बिरामी देख्छ।
युवक जीवनको अन्तिम याचनाहरु सरकारी रुखको हरेका हांगामा फाइल बनेर झुडिन्छ। यसरी युवकको प्राण एउटा मरेको रुख बराबर पनि नगन्दा घिटघिट कंकालमा बदलिन्छ।
समाजले सामान्य नागरिकको प्राणलाई पैसा, शक्ति र नामभन्दा माथि देख्न छोडेको नाटकले देखाउँछ। हाम्रो सरकारी व्यवस्था र राजनीतिप्रति तिखो व्यङ्ग्य प्रहार गरेको छ, ‘जामुनको रुख’ले।
उर्दु भाषाका साहित्यकार कृष्ण चन्दरको लेखन रहेको ‘जामुनको रुख’ नेपालको राजनीतिक र सामाजिक परिवेशसँग ठ्याक्कै मेल खान्छ। यसलाई नाटकलाई निर्देशक केदार श्रेष्ठले केहि मौलिकता थपेर निर्देशन गरेका छन्।
यसमा शंकर भण्डारी, कञ्चन संग्रौाल, रोसन केसी, मनिष व्याञ्जु, शक्ति पाख्रिन, हीरा महर्जन, स्नेहा रसाईली र सरोज राईको अभिनय रहेको छ।
कीर्तिपुरस्थित थिएटर मलमा पुस २१ देखि सुरू भएको ‘जामुनको रुख’ माघ ४ गतेसम्म मञ्चन हुनेछ।












