’ए’ डिभिजन लिग फुटबल : एपिएफकाे विजयी सुरुआत
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो। एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एकएक गोल गरे।
काठमाडौं, फागुन २० : विभागीय टोली एपिएफ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा विजयी सुरुआत गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टार क्लबलाई २-० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुआत गरेको हो। एपीएफको जितमा मणि कुमार लामा र अर्मान्ड बिडोमले एकएक गोल गरे। खेलको ७२ औं मिनेटमा मणिले फ्रिकिकमार्फत गोल गर्दै एपीएफलाई सुरुआती अग्रता दिलाएका थिए।
मणिको फ्रिकिक बल थ्री स्टारका गोलकिपर अरुण ब्लोनले समात्न खोज्दा पोस्टको जाली चुमेको थियो। त्यसपछि खेलको ८६औं मिनेटमा अर्मान्डले गोल गर्दै एपीएफलाई २-० को जित दिलाए।
जितसँगै एपीएफले पहिलो खेलमा ३ अंक जोडेको छ। थ्री स्टारले भने हारबाट लिगको सुरुआत गरेको छ।
त्यस्तै नवप्रवेशी क्लब चर्च ब्वाइज युनाइटेडले पनि लिगमा विजयी सुरुआत गरेको छ।
च्यासल मैदानमा शनिबार भएको डेब्यु खेलमा चर्चले नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले हराएको हो। चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे। पुलिसका रबि पासवानले एक गोल गरे।











