कर्णाली सरकारको पहिलो वर्ष ‘आक्रामक’
सुर्खेत, फागुन ३ : कर्णालीमा प्रदेश सरकार गठन भएको आज एकवर्ष पूरा भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अघिल्लो वर्ष फागुन ३ गते पद तथा गोपनीयता....

सुर्खेत, फागुन ३ : कर्णालीमा प्रदेश सरकार गठन भएको आज एकवर्ष पूरा भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अघिल्लो वर्ष फागुन ३ गते पद तथा गोपनीयताको सपथ लिएका थिए । प्रदेश सरकारले पहिलो वर्षलाई सफलताको रुपमा लिएको छ ।
अन्य प्रदेशको तुलनामा कर्णाली सरकारले उत्कृष्ट र नमूना काम गरेको मन्त्रीहरुको भनाइ छ । “हाम्रो पहिलो वर्ष सफल भएको छ, यो अवधिमा मन्त्रिपरिषद्का ४० वटा बैठक बसेका छन् । अर्गानिक प्रदेश बनाउने प्रक्रिया शुरु भएको छ,” कृषि तथा सहकारीमन्त्री एवं प्रवक्ता विमला केसीले भनिन्, “सुत्केरी र गर्भवतीको उद्धारका लागि एयर एम्बुलेन्स सेवाको पनि यही अवधिमा शुरुआत भएको छ ।”
भौतिक संरचनाको कमि, कानुनी बाधा र प्रशासनिक संरचनाको अभावबीच प्रदेश सरकारले केही राम्रा र उदारणीय काम पनि गरेको छ । सबैभन्दा कठिन र बिबाद हुने आंकलन गरिएको प्रदेशको नामकरण र राजधानीको टुंगो लगाएको छ ।
कर्णाली सरकारले पहिलो कामका रुपमा प्रदेशको नाम र राजधानी सर्वसम्मत तोकेको थियो । अझै चारवटा प्रदेश नाम र राजधानी टुंगो लगाउन सकेका छैनन् ।
यो अवधिमा प्रदेश सरकारले दुई पटक बजेट ल्याएको छ । यस्तै कर्णालीलाई संघीय राजधानी काठमाण्डौंसँग सिधा हवाइ सेवा संचालन गरेको छ । यस्तै, हुम्लाको चीनसँगको हिल्सा नाकामा अध्यागमन कार्यालयको स्थापना गरेको छ ।
यो अवधिमा प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न भएको छ भने विषयगत मन्त्रालयका संरचनाहरू जिल्लामा विस्तार गरिएका छन् । त्यस्तै, मुख्यमन्त्री हटलाइन सेवाको संचालन, प्रदेश योजना आयोग र विज्ञ समूहको गठनलाई पनि प्रदेश सरकारले पहिलो वर्षको सफलता मानेको छ ।
कर्णालीमा चिनियाँ लगानीकर्ताहरू भित्रिएको प्रदेश सरकारको भनाइ छ । चीनको चाइना रेलवे कम्पनीले बाँकेको जमूनाहदेखि हुम्लाको हिल्सासम्म जोड्ने फास्ट ट्रयाक निर्माणका लागि सम्भाव्यता अध्ययन थालेको प्रवक्ता केसीले बताइन् ।
त्यस्तै गत बैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले राराबाट ‘रारा–कर्णाली पर्यटन वर्ष’को उद्घाटन गरेका थिए ।
यो अवधिमा १७ वटा कानुन निर्माण गरिएको, कर्णालीको सिमृद्धिका लागि अन्तर्राष्ट्रिय दाताहरूसँग परामर्श सम्मेलन सम्पन्न भएको, प्रदेश योजना आयोगले काम थालेको, यो आर्थिक वर्षका अधिकांश योजनाहरू निर्माणका लागि सम्झौता भएको र एक दर्जनभन्दा बढी विधेयकहरू तयारी अवस्था रहेको उल्लेख गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि पहिलो वर्ष सन्तोषजनक बितेको बताए । पहिलो वर्ष कानुन निर्माणको वर्ष भए पनि सरकारले केही आशलाग्दा काम गरेको उनको मुख्यमन्त्री शाहीको भनाइ छ ।
राजनीतिक विष्लेशक पीताम्बर ढकाल कर्णाली सरकारले राम्रो शुरुआत गरेको बताए । उनले भने, “अन्य प्रदेशको तुलनामा कर्णालीमा प्रदेश सरकारले आक्रामक काम गरेको छ, तर यसलाई निरन्तरता दिनुपर्छ । सुरुवात राम्रो नै गरेको हो, यद्यपी पछिल्लो दिनमा सरकारको गति सुस्ताएको देखिन्छ ।” उनले अब भौत्तिक निर्माण र जनअपेक्षा पूरा गर्नेगरी सरकारले गति बढाउनुपर्ने सुझाव दिए ।











