Kathmandu Press

पदमार्ग निर्माणले नारच्याङ झरना पुग्न सहज

झरना अवलोकन गर्न आउने पर्यटकको सहजरुपमा आवतजावतका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा पदमार्ग निर्माण गरिएको हो।
पदमार्ग निर्माणले नारच्याङ झरना पुग्न सहज

म्याग्दी, फागुन २० : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङ झरना जोड्ने पदमार्ग निर्माण भएको छ। नारच्याङ गाउँको पृष्ठभूमिमा रहेको अग्लो पहाडबाट खस्ने झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्य हो। 

झरना अवलोकन गर्न आउने पर्यटकको सहजरुपमा आवतजावतका लागि गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीको सहयोगमा पदमार्ग निर्माण गरिएको हो।

उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रकाश फगामीले कार्यालयको सहयोगमा भिरालो पाखोको उकालोमा एक सय ५० मिटर रेलिङसहितको पदमार्ग निर्माण गरिएको जानकारी दिए। पदमार्ग एक दशमलव पाँच मिटर फराकिलो छ।

Hardik ivf

'रु. दश लाख विनियोजन गरी पदमार्ग निर्माण थालिएको हो, यसमा  स्थानीयले १० प्रतिशत श्रमदान गरेका छन्,' उनले भने। नारच्याङ गाउँदेखि झरनासम्म थप एक किलोमिटर पदमार्ग निर्माण आवश्यक भएको फगामी बताउँछन्।

पदमार्ग निर्माणपछि पर्यटकलाई सहज हुनेछ। उकालो बाटोमा व्यवस्थित पदमार्ग नहुँदा चिप्लिएर लड्ने जोखिम थियो। पदमार्ग निर्माणलाई पूर्णता दिन योजनालाई निरन्तरता दिइने वडाध्यक्ष लोकबहादुर फगामीले बताए। 

झरनाले नारच्याङमा पर्यटकको चहलपहल बढाएको छ। चारपाँच वर्षअघिसम्म ओझेलमा रहेको यो झरना सुनसान थियो। दैनिक झण्डै एक सय स्वदेशी तथा विदेशी पर्यटक झरना अवलोकनका लागि आउने गरेका स्थानीय टकबहादुर पुनले बताए।

झरनाको उचाइ तीन सय मिटरभन्दा बढी छ। स्थानीयले नारच्याङदेखि झरनासम्म कच्ची पदमार्ग, दृश्यावलोकन स्थल र घेराबार निर्माण गरेका छन्। झरना नजिकैको भूमे देवताको थान नारच्याङवासीको धार्मिकस्थल हो। सो ठाउँबाट कालीगण्डकी किनारको समथर भूगोल, नारच्याङ, दाना र तातोपानीको बस्ती देखिन्छ। 

भूमेथान परिसरमा अन्नपूर्ण गाउँपालिकाको रु सात लाख अनुदानमा घेराबार र दृश्यावलोकन स्थल बनाइएको छ। सार्वजनिक शौचालय निर्माण भएको छ। विश्रामका लागि भवन निर्माणाधीन छ। 

बेनी–जोमसोम सडकको नागढुङ्गादेखि पाँच मिनेट सवारीसाधन र आधा घन्टा पैदल हिँडेर झरना भएको स्थानमा पुग्न सकिन्छ। झरना अवलोकनका लागि आउने पर्यटकको सुविधाका लागि नारच्याङका सात घरमा घरबास ‘होमस्टे’ सञ्चालन गरिएको छ। 

प्रकाशित मिति: १४:४४ बजे, शनिबार, फागुन २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्