डा. माधुरी राणा सिंहद्वारा लिखित पुस्तक ‘सामाजिक न्याय’ फागुन २० गते शनिबार विमोचन हुँदैछ। सन् १९९२ मा स्थापना भएको ‘साथी संस्था’को संस्थापक रहेकी डा. सिंहले घरेलु हिंसामा आठ वर्ष सक्रिय भएर काम गरेकी थिइन्। त्यसक्रममा उनले देशका ६० भन्दा बढी जिल्लामा पुगेर महिलाहरूको अवस्थाबारे अध्ययन गरेकी थिइन्। उनकै नेतृत्वमा साथी संस्थाले घरेलु हिंसापीडित महिलाहरूका लागि पहिलोपटक सेल्टर निर्माण गरेको थियो।
६० जिल्लामा महिलाका समस्याबारे अध्ययन गरी सोही अनुभवलाई उनले आफ्नो पुस्तकमा उतारेकी छन्। साथै अमेरिकी सहयोग नियोग (युएसएड) मा सन् २००१-२०१२ सम्म गरेको काम र अनुभवलाई पनि पुस्तकमा उतारेकी छन्। पुस्तकको मूल्य ३५० रुपैयाँ ररहेको छ।
डा. सिंहले घरेलु हिंसामा विद्यावारिधि (पिएचडी) समेत गरेकी छन्। ‘घरेलु हिंसा’ विषयमा पिएचडी गर्ने सिंह पहिलो नेपाली महिला हुन्। सामाजिक न्यायको सम्बन्धमा महिलाहरूको स्थिति र पुस्तक ‘सामाजिक न्याय’बारे डा. माधुरी राणा सिंहसँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको कुराकानीको सम्पादित अंश :
पुस्तकको परिकल्पना कसरी गर्नुभयो?
महिलामाथि हुने घरेलु हिंसाविरुद्ध लामो समय काम गरें। मुलुकको कुनाकुनामा पुगेर महिलाको अवस्था नियालें। त्यसक्रममा मसँगै काम गर्ने साथीहरूबाट आफ्नो अध्ययनलाई डकुमेन्टका रूपमा सुरक्षित राख्नुपर्ने सुझाव पाएँ। सुझाव सकारात्मक लाग्यो र पुस्तक लेख्ने सोच आयो।
पुस्तक लेख्न कति समय लाग्यो?
काम र पुस्तक लेखनलाई सँगसँगै अगाडि बढाएकी हुँ। कामकै सिलसिलामा निरन्तर पुस्तकमै लागिरहन सकिनँ। पुस्तक पूरा हुन ६ वर्षजति लाग्यो।
पुस्तकको नाम ‘सामाजिक न्याय’ राख्नुभएको छ, कसरी जुर्यो?
पुस्तकका लागि पत्रकार टंक पन्तले धेरै सहयोग गर्नुभएको छ। कानुनी र व्यावहारिक तवरमा समाजले न्याय नदिएसम्म महिलाले न्याय पाउँदैनन्। महिलाले कानुनी रूपमा न्याय पाए पनि समाजले त्यसलाई स्वीकार गर्दैन। उदाहरणका लागि एउटा महिलाले सम्बन्ध विच्छेदको मुद्दामा कानुनी रूपमा न्याय त पाउँछिन्। तर ती महिलामाथि समाजले हेर्ने दृष्टिकोण फरक हुन्छ। कानुनी हिसाबमा जित भए पनि समाजमा उनीमाथि विभिन्न लाञ्छना लगाइन्छ। त्यस्ता महिलाहरू अघोषित बहिष्करणमा पर्छन्।
जबसम्म पीडित महिलालाई कानुनले दिएको न्याय उपभोग गर्न समाजले दिँदैन, तबसम्म उनीहरूलाई काम गर्न सहज हुँदैन। कानुनले मात्रै न्याय दिएर पुग्दैन, समाजले पनि न्याय दिनुपर्छ भन्ने भावसहित किताबको नाम सामाजिक न्याय राखिएको हो। सामाजिक न्याय भनेर किताबको नामकरण भए पनि सामाजिक न्यायको शीर्षकमा कुनै विषय समेटिएको छैन। त्यसमा आफूले भोगेको, समाजबाट पाएको न्याय, सद्भावका कुरा छन्। समाजले बराबरीको मान्यता नदिएसम्म न्याय हुँदैन भन्ने कुरा छन्। यसका लागि मेरी आमा (विष्णुकुमारी देवी राणा) र हजुरआमा (नन्दकुमारी देवी राणा) को ठुलो हात छ। त्यतिबेलाको सक्रिय, सक्षम महिलाका रूपमा सामाजिक कार्यमा लागेका कारण मलाई पनि ऊर्जा मिल्यो।
यस पुस्तकले कस्ता विषयवस्तु उठाएको छ?
यसमा मैले गरेका काम र समाजमा देखेका विषय छन्। अवसरको सदुपयोग र चुनौतीलाई चिर्दै अगाडि आउन सकें। त्यसमा धेरै बाधाअवरोध थिए। यिनै कुरा पुस्तकमा समेटिएका छन्। मैले कसरी समाजका निम्ति बोल्न सकें, म घरबाट कसरी निस्किन सकें भन्ने कुरा लेखेकी छु। कुनै समुदाय लक्षित नभई एउटा महिलाको संघर्ष र अनुभवलाई पुस्तकमा समेटेकी छु। पुस्तकमा नयाँ पुस्ताका लागि महिला जागरणका कुरा छन्। ‘महिलाले आफ्ना कुरा कसरी उठाउन सक्छन्, कसरी आवाजविहीनहरूको आवाज बन्न सकिन्छ’ भन्ने विषयवस्तु पुस्तकमा समेटिएका छन्।
लामो समय विभिन्न क्षेत्रमा काम गरेर नयाँ पुस्तक लेख्नुभएको रहेछ, के छ पुस्तकमा?
पुस्तक संस्मरण हो। बाल्यकालदेखि हालसम्म अध्ययनका कुरा, युवा अवस्थाको कुरा, आफूले साथी संस्थामा काम गरेदेखिका कुरा समेटिएका छन्। धेरै कुरा साथी संस्थामा काम गरेपछिका छन्।
जबसम्म पीडित महिलालाई कानुनले दिएको न्याय उपभोग गर्न समाजले दिँदैन, तबसम्म उनीहरूलाई काम गर्न सहज हुँदैन। कानुनले मात्रै न्याय दिएर पुग्दैन, समाजले पनि न्याय दिनुपर्छ भन्ने भावसहित किताबको नाम सामाजिक न्याय राखिएको हो।
पुस्तक अनुभवको सँगालो मात्रै हो कि खास विषयका रिसर्च पनि छन्?
साथी संस्थामा कार्यरत हुँदा विभिन्न जिल्लामा अध्ययनका लागि पुगेकी छु। सोही क्रममा थाहा पाएका घटना र त्यससँग सम्बन्धित विषयवस्तुलाई पुस्तकमा समेटेकी छु।
सामाजिक न्यायको क्षेत्रमा नेपालमा सुधार गर्नुपर्ने कुरा के रहेछन्?
सर्वप्रथम त कानुनको प्रभावकारी कार्यान्वयन देखिँदैन। कानुन कार्यान्वयन गर्ने स्थानमा रहेका व्यक्तिहरूले सामाजिक न्यायका विषयहरूलाई गम्भीरताका साथ लिएको पाइँदैन। महिलाहरूका सन्दर्भमा स्थिति अझै नाजुक छ। सामाजिक जागरणको आवश्यकता छ। मानिसहरूलाई सचेत गराउन जरुरी छ। कानुनसँगै सामाजिक न्यायका सम्बन्धमा सरकारले सचेतनामूलक कार्यक्रमहरू अगाडि ल्याउनुपर्छ। आफूले केही काम गर्दा अरुलाई असर पर्छ कि पर्दैन भन्नेबारे सोच आए समाजमा राम्रो परिवर्तन हुन सक्छ।
साथी संस्थामा रहेर महिला हिंसाविरुद्ध केके काम गर्नुभयो?
महिला हिंसाविरुद्ध काम गर्न साथी संस्था स्थापना गरेका थियौं। संस्था स्थापनापछि पहिलो चरणमा महिलाहरूको अवस्था बुझ्यौं। महिला हिंसामा चेतना अभिवृद्धिको काम गर्यौं। त्यसपछि घरेलु हिंसामा परेकाहरूको उद्धार गर्यौं। उनीहरूलाई राख्न सेल्टर बनायौं। द्वन्द्वप्रभावित महिलाहरूको पुनःस्थापनाका लागि पनि काम गर्यौं। पीडित महिलाका तर्फबाट वकालत गर्र्यौं। महिलालाई न्याय दिलाउन हरसम्भव कोसिस गर्र्याैं। ती काम अहिलेपनि जारी छन्।
ती सेल्टरहरू कहाँकहाँ छन्?
ग्लोबल फन्ड फर वुमनको सहयोगमा सेल्टर निर्माण गरेका हौं। सुरुवाती दिनमा काठमाडौं मालीगाउँ, विशालनगर, जाउलाखेल, नक्खुमा सेल्टर थिए। प्रत्येक सेल्टर १२ बेड क्षमताका थिए। अहिले नेपालगन्ज, कपिलवस्तु र कञ्चनपुरमा पनि सेल्टर विस्तार गरेका छौं। त्यहाँ पीडित महिलालाई बस्ने, खाने र सुरक्षाका लागि सम्पूर्ण व्यवस्था साथी संस्थाले नै गरेको थियो। ती सेल्टरमा घरेलु हिंसापीडित महिलाहरूलाई राखिन्थ्यो।
६० वटा जिल्लामा महिलाको अवस्था कस्तो पाउनुभयो?
सुदूरपश्चिमतिर महिलालाई तालिम दिन जाँदा पुरुष झ्यालमा बसेर सुन्थे। घर बिगार्न आएको आरोप हामीमाथि लाग्थ्यो। हामीले गरेको कार्यक्रममा नजाऊन् भनेर पुरुषहरू महिलालाई घरबाट निस्कनसम्म दिँदैनथे। किशोरावस्था (१५÷१६ वर्ष) मै विवाह गर्ने महिलाहरूको संख्या धेरै थियो। उनीहरू २०÷२२ वर्षसम्म तीनचार सन्तानका आमा भइसकेका हुन्थे।
धनुषा, महोत्तरीलगायत मधेसमा महिलाहरूको अवस्था अझै दयनीय नै छ। बोक्सी आरोप लगाएर गाउँबाटै निकालिएका कैयौं घटनाबारे अध्ययन गर्यौं। हामीले गरेको सचेतनामूलक कार्यक्रममा सहभागी हुन त्यहाँका महिलाहरू मुख छोपेर आउँथे। आफूमाथि अन्याय भए पनि आवाज उठाउन सक्दैनथे। सामाजिक संरचना नै त्यस्तै थियो। सन्तानप्रतिको मोहले पनि महिलाहरूलाई अन्याय सहेरै भए पनि बस्न विवश हुने गरेको अध्ययनबाट थाहा पायौं।
समाजले पनि महिलामाथि हुने दमनलाई नजरअन्दाज गर्दा महिलाहरू थप आवाजविहीन हुन पुगेको पाइयो। श्रीमती कुट्ने श्रीमान्लाई बहादुर ठान्ने, ‘श्रीमतीलाई तह लगाएर राखेको छु’ भन्ने मानसिकता भएका कारण समाजमा महिलाहरू हिंसा सहेरै भए पनि श्रीमान्कै घरमा बाध्य भएको देखियो।
कुनै समुदाय लक्षित नभई एउटा महिलाको संघर्ष र अनुभवलाई पुस्तकमा समेटेकी छु। पुस्तकमा नयाँ पुस्ताका लागि महिला जागरणका कुरा छन्। ‘महिलाले आफ्ना कुरा कसरी उठाउन सक्छन्, कसरी आवाजविहीनहरूको आवाज बन्न सकिन्छ’ भन्ने विषयवस्तु पुस्तकमा समेटिएका छन्।
समुदायको समस्या नीति निर्माण तहबाट सम्बोधन गर्न कस्तो भूमिका निर्वाह गर्नुभयो?
साथीले आफ्नो काम थालनी गर्र्दा महिलाको सम्बन्धमा कानुन नै बनेको थिएन। त्यतिबेला हामीले पाँचवटै विकास क्षेत्रमा पुगेर महिला हिंसा र त्यसबारेमा तालिम दिएका थियौैं। समाजमा नेतृत्वदायी भूमिका खेल्न सक्ने व्यक्ति, शिक्षक, धर्मगुरु, युवाहरूलाई परिचालन गरेका थियौं। तालिमको प्रभाव राम्रै देखियो। बाँकेको एउटा सिंगो गाविस नै हिंसामुक्त क्षेत्र घोषणा भएको थियो। तालिमबाट महिलाहरू आफूमाथि भएको हिंसाविरुद्ध कम्तीमा आवाज उठाउनसम्म सक्ने भएका थिए।
महिला बालबालिकालाई घरेलु काम मात्र सिकाउने होइन, बाह्य काममा पनि प्रवेश गराउनुपर्छ भन्ने सोचको विकास केही हदसम्म भएको थियो। जसले गर्दा महिला सेक्युरिटी गार्ड, ड्राइभिङ, केबुल लाइनतिर काम गर्न थालेका थिए।
घरेलु हिंसामा पिएचडी गर्नुभएको छ, त्यही विषय किन रोज्नुभयो?
नेपालबाट घरेलु हिंसा विषयमा पिएचडी गर्ने वातावरण थिएन। त्यसमाथि विज्ञान विषयमा स्नाकोत्तर गरेका कारण नेपालमा उक्त सुविधा थिएन। त्यसैले अमेरिकाको युनिभर्सिटीबाट ५० वर्षको उमेर पुगेपछि अनलाइन कक्षा लिएर सुरआत गरेकी थिएँ। विषय संवेदनशील थियो। अनलाइनबाट अध्ययन गरेर त्रिभुवन विश्वविद्यालयबाट कागजपत्र बुझाएर सामाजिक विभागले सन् २००९ मा मान्यता दिएको हो।
घरेलु हिंसामा परेका महिलाहरूका लागि यो विषय एक सम्मान हो। किनभने घरबाट महिलाले आफूमाथि हिंसा भइरहेको कुरा बताउन सक्नु नै सबैभन्दा ठुलो निर्णय हो। पीडित महिलाप्रतिको सद्भाव हो।
नेपालमा घरेलु हिंसासम्बन्धी पिएचडी गर्ने कोही नभएका कारण पनि मैले गरेकी हुँ। साथी संस्थासँग काम गर्दै जाँदा धेरै अनुभव भयो। घरेलुहिंसा अध्ययनका लागि नयाँ विषय थियो। त्यसमा कसैले अध्ययन–अनुसन्धान नगरेको विषय थियो। आफूले गरेको काममा कतिपय घटनाले मन छुन्छ। त्यसैले घरेलुहिंसाका प्रकृति मात्र नभई यसबारे अध्ययन गर्न यही विषय रोजें।
सामाजिक न्यायको आँखाबाट हेर्दा नेपालमा महिला कुन अवस्थामा छन्?
महिलामाथिको हिंसा तुलनात्मक रूपमा कम भएको छ। हिंसा अझै रोकिएको छैन। शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा महिलाहरूको उपस्थिति तुलनात्मक रूपमा वृद्धि भएको छ तर पुरुषबराबरको हैसियत प्राप्त हुन बाँकी छ। लैंगिक समानता र समानुपातिक सहभागिताबारे प्रश्न उठ्दा पहुँचमा पुगेका पुरुषहरू अझै पनि नाक खुम्च्याउँछन्। महिला हिंसा, बलात्कारमा हाई प्रोफाइल पुरुषहरू नै संलग्न भएका घटना पनि सार्वजनिक भएका छन्। त्यस्ता घटनाहरूमा महिलाहरूलाई दोष लगाएर पुरुषहरूले उन्मुक्ति पाइरहेका दृश्य हामी अगाडि नै छन्।
साथी संस्थाले आफ्ना तर्फबाट गर्नुपर्ने कामहरू गरे पनि कार्यान्वयन तहमा कतिको सफल भएका छौं भन्ने प्रश्नहरू पनि हाम्रा अगाडि आइरहन्छन्। पछिल्लो समय सञ्चारमाध्यमले पनि महिला हिंसाविरुद्ध केही हदसम्म सकारात्मक काम गरेका छन् तर त्यति मात्रै सम्पूर्ण होइन। महिला पीडित हुन् भन्ने थाहा पाउँदापाउँदै पुरुषहरूले उन्मुक्ति पाइरहेका छन् भने समाजमा यसरी लुकेर बसेका घटनाहरू कहिले सार्वजनिक हुन्छन् र उनीहरूले कहिले न्याय पाउँछन् भन्ने प्रश्न पेचिलो बनेर रहेका छन्।
१३/१४ वर्षका किशोरीहरू आफ्नैबाट बलात्कृत भएका घटनाहरू सतहमा आउन थालेका छन्। आमाहरू वैदेशिक रोजगारमा गएको परिवारमा छोरीबुहारी देखि नातिनीसम्म असुरक्षित हुने गरेको पाइन्छ। यस हिसाबमा महिलामाथि हुने हिंसाको स्वरूप परिवर्तन भएका छन्। तर महिला हिंसा अझै पनि समाजमा व्याप्त छन्। कानुन परिमार्जन गर्दै लैजानुपर्ने हो तर त्यो हुन सकेको छैन। हिंसाको स्वरुव बदिलिँदै गर्दा त्यहीअनुसार कानुन परिमार्जन गर्न नसक्नु ठुलो कमजोरी रहेको अनुभव हुन्छ।
संवेदनशील भएर हेरिदिनुहोला, यस पुस्तकमा सबै कुरा नपुगेको हुन सक्छ। अध्ययन गर्दै जाँदा आफैंलाई पनि कतिपय कुरा छुटेको महसुस भएको छ। भावनात्मक रूपमा जोडिने भएकाले आँखामा आँसु आएको थियो। यहाँ महिलाका दर्दनाक कथा छन्।
पीडकले मुक्ति पाउँदा समाजमा कस्तो प्रभाव पर्छ?
पीडकले उन्मुक्ति पाउनु कमजोर कानुनको उपज हो। बिचौलियाका कारण पनि यस्ता मुद्दाहरू कमजोर हुने गरेका छन्। बिचौलियाका कारण घटनाका प्रमाण तोडमोड हुन्छन्। जसका कारण पीडितले न्याय पाउने सम्भावना कमजोर बन्छ भने उन्मुक्ति पाउने पीडकलाई अझै प्रोत्साहन मिल्छ।
महिला हिंसा पनि समुदायअनुसार फरक छन्?
सबै समुदायका महिलाहरू कुनै न कुनै किसिमले हिंसामा परेका छन्। तर विशेषगरी दलित, पिछडिएका समुदाय, गरिब परिवारमा महिलामाथि बढी हिंसा हुन्छ। शारीरिक रूपमा अशक्तता भएका महिलाहरूले अझै बढी हिंसा खेप्नुपर्ने अवस्था छ। उनीहरूमाथि शारीरिक, मानसिक, आर्थिक र मनोवैज्ञानिक हिंसा भइरहन्छन्। ठाउँ र सामाजिक अवस्थाअनुसार हिंसाको प्रकार फरक हुन्छ। महिलाहरू घरबाहिर निस्कने अवस्था नहुँदा आर्थिक उपार्जनको जिम्मेवारी पुरुषले नै पाउँछन्। त्यसकारण उनीहरू परिवारमा हाबी हुने महिलामाथि जस्तोसुकै दमन गर्न पनि आफूमाथि पूर्ण अधिकार भएको ठान्ने प्रवृत्ति छ।
पुस्तकमा सामाजिक न्यायका समस्या र समाधानलाई कसरी जोड्नुभएको छ?
समस्या र समाधान पाठकहरूले नै जोड्नुपर्छ। पाठकले अध्ययन गरेर सामाजिक न्यायको समस्या र समाधान खोज्न सक्छन्। यी कुरा पुस्तकमा लेखिएका छन्।
अन्तमा, केही भन्न चाहनुहुन्छ?
पुस्तकमा नाम मेरो भए पनि सार्थकता दिन धेरैको योगदान छ। मेरो काम गर्ने साथी, गुरुवर्ग, परिवार अभियानमा हिँडेका सहयात्रीको योगदान छ। यो मेरो मात्र होइन, सबै नेपाली नारीको साझा कथा हो। संवेदनशील भएर हेरिदिनुहोला, यस पुस्तकमा सबै कुरा नपुगेको हुन सक्छ। अध्ययन गर्दै जाँदा आफैंलाई पनि कतिपय कुरा छुटेको महसुस भएको छ। भावनात्मक रूपमा जोडिने भएकाले आँखामा आँसु आएको थियो। यहाँ महिलाका दर्दनाक कथा छन्। ती कथाहरू पढ्दै गर्दा ती महिला कहाँ गए, कहाँ पुगे, कुन हालतमा होलान् भन्ने लाग्छ।