Kathmandu Press

यू–१९ विश्वकप छनोट : युएईलाई नेपालले दियो १९२ रनको लक्ष्य 

खराब अवस्थामा रहेको नेपाललाई कप्तान खनाल र मगरको साझेदारीले खेलमा पुनरागमन दिलाएको थियो ।
यू–१९ विश्वकप छनोट : युएईलाई नेपालले दियो १९२ रनको लक्ष्य 

काठमाडौं, फागुन १८ : आइसीसी यू–१९ विश्वकप अन्तर्गत एसिया छनोटको खेलमा नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ । युएईको अजमानमा पहिलो ब्याटिङ गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुँदै १ सय ९२ रन बनाएको हो । 

नेपालका लागि कप्तान देव खनालले अर्धशतक बनाए। उनले  ८४ बलमा ३ चौका र १ छक्का प्रहार गरी ५१ रन बनाए । त्यस्तै उत्तम थापा मगरले  ३६ रन बनाए। उनले  ४८ बलमा ३ चौका र १ छक्का प्रहार गरे । 

खराब अवस्थामा रहेको नेपाललाई कप्तान खनाल र मगरको साझेदारीले खेलमा पुनरागमन दिलाएको थियो । नेपालका ओपनर दीपक बोहरा पहिलो बलमै बोल्ड भएका थिए । त्यसपछि अर्जुन कुमाल तीन रनमै आउट हुँदा आकाश त्रिपाठी ९ रन बनाएर पवेलियन फर्केका थिए । नेपालले  सातौं ओभरमा तीन विकेट गुमाएर  १९ रनमात्र जोड्न सकेको थियो । 

कप्तान खनाल र मगरसँगै मध्यक्रमका अर्का ब्याट्सम्यान विशालविक्रम केसीले ३८ रन बनाएपछि नेपालले सन्तोषजनक स्कोर बनायो । केसीले ५० बलमा ५ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानहरु मिलन बोहरा १० रनमै आउट हुँदा सुवास भन्डारीले २ रन बनाए । त्यस्तै  हेमन्त धामीले १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाउँदा दीपेश कँडेलले ३३ बल खेल्दै १५ रन बनाए ।

युएईका लागि ध्रुव परासरले यूएईबाट ३ विकेट लिए भने हरिश शेट्टी, र कप्तान आयान खानले २–२ विकेट लिए ।  

यस खेलको विजेताले अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपमा स्थान बनाउने छ । नेपाल र यूएई दुवैले राउन्ड रोबिनको पहिलो चार खेल जितेर निर्णायक खेलमा उभिएका हुन् । नेपालले २०१६ यता आईसीसी यू–१९ विश्वकप खेलेको छैन ।


 

प्रकाशित मिति: १४:०६ बजे, बिहीबार, फागुन १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्