मृतकका परिवारलाई क्षतिपूर्ति माग गर्दै सडक अवरुद्ध
तनहुँ, पुस २८ : बस दुर्घटनामा मृत्यु र घाइते भएका परिवारलाई क्षतिपूर्तिको माग गर्दै तनहुँमा सडक अवरुद्ध गरिएको छ।
सोमबार बिहानैदेखि तनहुँको ....

तनहुँ, पुस २८ : बस दुर्घटनामा मृत्यु र घाइते भएका परिवारलाई क्षतिपूर्तिको माग गर्दै तनहुँमा सडक अवरुद्ध गरिएको छ।
सोमबार बिहानैदेखि तनहुँको घिरिङ गाउँपालिका–३ थानीमाईका वासिन्दाले सडक अवरुद्ध गरेका हुन्। शुक्रबार भएको बस दुर्घटनामा परी ज्यान गुमाएका तथा घाइतेका परिवारले सडक अवरुद्ध गरेका छन्।
पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६१७५ नम्बरको बस अनियन्त्रित भई सडकबाट खस्दा बसमा सवार घिरिङ गाउँपालिका–१ बस्ने २० वर्षीया मुना थापा र घिरिङ गाउँपालिका–३ बस्ने ४२ वर्षीय नानीमाया गुरुङको मृत्यु भएको थियो। दुर्घटनामा अन्य २२ जना यात्रु घाइते भएका थिए।
घटना भएको चार दिन बितिसक्दा पनि यातायात समितिका तर्फबाट क्षतिपूर्तिका लागि पहल नभएको भन्दै पीडित परिवारले सडक अवरुद्ध गरेका हुन्। उनीहरुको अवरोधले सवारी साधान चल्न सकेका छैनन्।
सडक अवरुद्ध हुँदा भीमाद बजार हुँदै ऋषिङ, घिरिङ, पाल्पा र स्याङ्जाका विभिन्न ठाउँ जाने यात्रुहरु मर्कामा परेका छन्।
इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले यातायात समितिका सम्बन्धित व्यक्ति आइसकेकाले क्षतिपूर्तिबारे छलफल भइरहेको बताए। बाटो सञ्चालन गर्ने विषयमा पीडित पक्षसँग पनि छलफल भइरहेको उनले बताए।











