कुवेतमाथि नेपालको २४३ रनको फराकिलाे जित
देव खनाल र अर्जुन कुमालको ब्याट र आकाश चन्दको बल चल्दा कुवेतविरुद्ध नेपालले विशाल जित निकाल्यो। खेलमा देव र अर्जुनले शतक प्रहार गरे भने आकाशले ६ विकेट लिए।
काठमाडाैं, माघ १३ : युएईमा जारी यू–१९ विश्वकपको एसियन छनोट नेपालले सादनर प्रदर्शन गरेको छ। पहिलो खेलमा सिंगापुरलाई हराएको नेपाली युवा टिमले दोस्रो खेलमा कुवेतमाथि २४३ रनको कीर्तिमानी जित निकाल्यो।
देव खनाल र अर्जुन कुमालको ब्याट र आकाश चन्दको बल चल्दा कुवेतविरुद्ध नेपालले विशाल जित निकाल्यो। खेलमा देव र अर्जुनले शतक प्रहार गरे भने आकाशले ६ विकेट लिए।
पहिला ब्याटिङ गर्दै नेपालले् दिएको ३४४ रनको लक्ष्य पछ्याएको कुवेत ३५.५ ओभरमा १ सय रनमै अलआउट भयो। कुवेतका तीन ब्याट्सम्यानले मात्र दोहोरो अंकमा स्कोर बनाउन सके ।
उसका जुड क्रिस्टोफर सल्धानाले सर्वाधिक २६ रन बनाउँदा युसुफ सदिक बासाले १९ र हेट किशोरभाइ हिन्सुले १६ रन बनाए।
कुवेतको इनिङ धरासायी बनाउने क्रममा नेपालका आकाश चन्दले उत्कृष्ट बलिङ गरे। अन्तिम समयमा गुल्सन झाको स्थानमा टिममा परेका उनले कुवेतविरुद्ध ८.५ ओभरमा ४३ रन खर्चेर ६ विकेट लिए। यस्तै, हेमन्त धामी र दिपेश कँडेलले समान २ विकेट लिए।
त्यसअघि पहिला गरेको नेपालले कप्तान देव र ओपनर अर्जुनको शतक मद्दतमा निर्धारित ओभरमा ७ विकेटको क्षतिमा ३४३ रन बनायो। नेपालका लागि देव खनालले सर्वाधिक १२५ रन बनाए भने अर्जुनले १०८ रन बनाए।
देवले ११७ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै १२५ रन बनाए भने ११२ बलमा १२ चौका प्रहार गर्दै १०८ रन बनाए। यी दुईले तेस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए।
यस्तै, विशाल विक्रम केसीले १४ बलमा २३ रन बनाउँदा दीपक डुम्रेले १६ बलमा २० रन बनाए। कुवेतका हेनरी थोमस र अर्षसाहिल काज्मीले समान २ विकेट लिए।
नेपालले तेस्रो खेल फागुन १६ गते मलेसियासँग खेल्नेछ ।











