नेकपाको अनिर्णयको बन्दी संसद्लाई नबनाऊ : कांग्रेस
काठमाडौं, पुस २७ : प्रमुख प्रतिपक्षी कांग्रेसले दलगत अनिर्णयको बन्दीमा संसद राखेको भन्दै यस्ता गैरजिम्मेवारीपूर्ण व्यवहार सुधार गर्न सत्तारुढ नेकपालाई....

काठमाडौं, पुस २७ : प्रमुख प्रतिपक्षी कांग्रेसले दलगत अनिर्णयको बन्दीमा संसद राखेको भन्दै यस्ता गैरजिम्मेवारीपूर्ण व्यवहार सुधार गर्न सत्तारुढ नेकपालाई आग्रह गरेको छ।
आईतबार संसद बैठक पुन: एक हप्ताका लागि स्थगित गरेलगत्तै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दलको अनिर्णयको बन्दि संसद नबनाउन आग्रह गरेका हुन्। ‘प्रतिनिधिसभाको बैठक पटक पटक स्थगित भएको विषय दुखद छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ।’
विज्ञप्तिमा संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भूमिका, गरिमा र महत्त्व हुन्छ भन्दै तीन महिनादेखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको प्रतिनिधिसभालाई लाचार छायाँ बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद भएको उल्लेख गरिएको छ।
‘स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउँदछ’ प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
नेकपामा सभामुख चयनकाे विषयमा सहमति नहुँदा आज पनि संसद् बैठक सूचना टाँसेर स्थगित गरिएकाे छ। यस अघि पनि दुई पटक संसद् स्थगित गरिएकाे थियाे।
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कारकाे आराेप लागेपछि असाेज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभामुख पद रिक्त रहेकाे छ।
नेकपामा सभामुखका लागि पूर्वसभामुख सुवाष नेम्वाङ र अग्नी सापकाेटाकाे नाम चर्चामा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङलाई र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सापकाेटालाई सभामुख बनाउन खाेजेका छन्।
जसले गर्दा उपसभामुख डा शिवमाया तुम्बाहाङफेलाई राजीनामा गर्न नेकपा सचिवालय बैठकले निर्णय गरेकाे थियाे। तर उपसभामुख तुम्बाहाङफेले राजीनामा नगर्ने अडान लिएपछि सभामुख चयनकाे विषय अघि बढ्न सकेकाे छैन्। उपसभामुख तुम्बाहाङफेले आफूलाई नै सभामुख बनाउनु पर्ने माग गरेकी छन्।
नेकपाकाे विवादका कारण संसद् चल्न सकेकाे छैन। पुस ४ गते पहिलाे बैठक बसेपनि त्यसपछि स्थगित हुँदै आएकाे छ।











