सामान्य वर्षासहित पाथीभरा क्षेत्रमा हिउँ झर्न थाल्यो

ताप्लेजुङ, फागुन १० : ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरा मन्दिर क्षेत्रमा सामान्य हिउँ परेको स्थानीय होटल व्यवसायी इन्द्रनारायण भट्टराईले जानकारी दिए।
यो वर्ष पहिलो पटक यस क्षेत्रमा सामान्य हिउँ झर्न सुरु भएको हो । जिल्लाका उत्तरी उच्च भेगमा भने वर्षा भएको छैन । विगतका वर्षमा पुस लाग्दै हिउँ पर्ने ओलाङचुङ्गोलासहितका क्षेत्रमा फागुनको मध्य हुन लाग्दासम्म हिमपात र वर्षा नभएको स्थानीयवासीले बताएका छन् ।
सदरमुकाम फुङलिङसहित केही ठाउँमा आज परेको वर्षाले किसानलाई सामान्य राहत मिलेको छ । यो वर्ष हिउँद लागेयता वर्षा नहुँदा हिउँदे बालीनाली फस्टाउन सकेको छैन । गहुँ, मकै, तोरीलगायत बालीनाली लगाउने समयमा वर्षा नहुँदा किसान चिन्तामा परेका छन् । वर्षासँगै सदरमुकामलगायत क्षेत्रमा चिसो बढेको छ ।











![यातायात कार्यालयमा सेवाग्राहीको भिड [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_e5165121-1783068187.jpg)
