Kathmandu Press

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान

शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान

काठमाडाैं, फागुन ६ : ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले शिवरात्रिका अवसरमा पाशुपत क्षेत्रमा धार्मिक अनुष्ठान गरेको छ । केन्द्रले १२ शिवलिङ्ग स्थापना गरेर सुरु गरेको अनुष्ठानका क्रममा शिवशक्तिको महिमालाई वर्णन गरिएको हो । आत्म, परात्म, सृष्टिको चक्र, मनुष्यका कर्म, कर्तव्यका साथै जीवनमा ध्यान विधिका महत्व र अभ्यासका विषयलाई सिकाइएको छ ।

आध्यात्मिक ज्ञान र राजयोगबाट जीवनलाई नैतिकवान र शान्त बनाउन सकेमा वर्तमान र भविष्यलाई उज्ज्वल बनाउन सकिने विषयमा भक्तजनलाई दिक्षा दिइएको उक्त कार्यक्रममा सञ्चालन गरिएको सांस्कृतिक कार्यक्रममा भजनकीर्तनसमेत गरिएको छ ।

यसैबीच केन्द्रले ठमेलस्थित प्रधान कार्यालयबाट भगवान् शिवलाई रथयात्रा गराएर सुरु गरेको पदयात्रा नगरका विभिन्न भाग परिक्रमा गरी कमलादीस्थित प्रज्ञा भवनमा आयोजित धार्मिक कार्यक्रमको मूूल समारोहमा पुर्‍याइएको थियो ।

उक्त कार्यक्रममा धार्मिकगुरुहरूबाट प्रत्येक मानिसले आध्यात्मिक शिक्षा प्राप्त गरी काम, क्रोध, लोभ, मोह र अहङ्कारको अन्त्य गरी सुख र शान्ति प्राप्त गर्न सकिने प्रवचन दिइएको थियो । जीवन र जगत्लाई बुझ्न सकेमा वा ज्ञान आर्जन गर्न सकेमा परमात्मालाई नजिकबाट चिन्न र जान्न सकिने विषयमा संक्षेपीकरण गरिएको थियो ।

आध्यात्मक शिक्षाका साथै विभिन्न सामाजिक सेवामा क्रियाशील केन्द्रले देशभर एक हजार शाखा विस्तार गरी राजयोग शिक्षा, धार्मिक ज्ञान, ध्यान, मानव सेवालगायत कार्य गर्दै आएको ब्रम्हकुमारी राजयोग कृतिले जानकारी दिए।

प्रकाशित मिति: १८:०५ बजे, शनिबार, फागुन ६, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्