Kathmandu Press

ऐरी र मल्ल चम्किँदा स्कटल्यान्डविरुद्ध नेपालको सानदार जित 

स्कटल्यान्डविरुद्धको खेलमा दिपेन्द्रसिंह ऐरीले ८५ रन बनाए भने कुशल मल्लले ८१ रनको योगदान गरे ।
ऐरी र मल्ल चम्किँदा स्कटल्यान्डविरुद्ध नेपालको सानदार जित 

काठमाडौं, फागुन ५ : दिपेन्द्र सिंह ऐरी र कुशल मल्ल चम्किँदा नेपालले स्कटल्यान्डविरुद्ध सानदार जित हासिल गरेको छ । 

आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा स्कटल्यान्डलाई ३ विकेटले पराजित गर्दै नेपालले सानदार जित हासिल गरेको हो । 

स्कटल्यान्डले दिएको २७५ रनको लक्ष्य नेपालले ४७ ओभरमा ७  विकेट गुमाउँदै भेट्टाएको हो । खराब सुरुवात गरेको नेपाली टोलीलाई कुशल मल्लले खेलमा फर्काएका थिए। ओपनर कुशल भुर्तेलले सुखद सुरुवात गरेपनि १६ रन बनाएर उनी पबेलियन फर्कीएका थिए । अर्का ओपनर आशिफ शेख ६ रनमै आउट हुँदा नेपाली टोली दबाबमा परेको थियो। 

ज्ञानेन्द्र मल्ल र कप्तान रोहितकुमार पौडेल पनि क्रमश ४ र ६ रन बनाउँदै आउट भएपछि नेपाली टिम चर्को दबाबमा परेको थियो । त्यसपछि आएका कुशल मल्लले टोलीलाई लयमा फर्काएका थिए । 

६७ बल खेलेका मल्लले  ९ चौका र ४ छक्काको विस्फोटक ब्याटिङ गर्दै ८१ रनको योगदान गर्दै नेपाललाई बलियो योगफलको अवस्थामा पुर्याए । 

लगत्तै दिपेन्द्रसिंह ऐरी र सोमपाल कामीले निकै उत्कृष्ठ साझेदारी गरे । ऐरीले ११६ बल खेल्दै ८ चौका र १ छक्का प्रहार गरे । उनले अविजित ८५ रन बनाए । ऐरीसँग साझेदारी गरेका कामीले अविजित २४ रन बनाए ।  उनले ३२ बलमा ३ चौका प्रहार गरे ।

स्कटल्यान्डका लागि क्रिस सोल र  मार्क वाटले समान ३÷३ विकेट लिए भने  माइकल लिस्कले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले निर्धारित ५० ओभर खेल्दै २७४ रनको योगफल तयार पारेको थियो । 
स्कटल्यान्डका लागि माइकल लिस्कले शतक बनाए। ८५ बल खेलेका माइकलले  तीन चौका र ९ छक्का प्रहार गर्दै अविजित १०७ रन बनाए। अन्य ब्याट्सम्यानहरुको प्रदर्शन मध्यम रह्यो। 

टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डका लागि ज्याक जर्भिसले २६ रन, क्रिस्टोफर मिक्ब्राइड र ब्रान्डन मिक्मुलेनले समान २२र२२ रन, कप्तान रिची बेरिंटन र तोमस म्याकिन्टोसले समान १९र१९ रन बनाए। त्यस्तै क्रिस ग्रिभेसले १६ रन बनाउँदा मार्क वाटले अविजित २० रनको योगदान गरे। अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बनाउन सकेनन्। 

नेपालका लागि पूर्वकप्तान सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने कुशल मल्लले दुई विकेट लिए। त्यस्तै सोमपाल कामी, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले समान एकएक विकेट लिए। 

नेपालले घरेलु मैदानमा भएको लिग २ को दुबै खेलमा सानदार जित दर्ता गरेको छ । नेपालले जारी प्रतियोगितामा दोस्रो ठूलो लक्ष्य पूरा गरेको हो । यसअघि नामिबियाले २८६ रनको लक्ष्य दिएको खेलमा नेपाल विजयी भएको थियो ।
 

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्