वर्ष पुगेको दिन प्रधानमन्त्रीका दुई उद्घाटन, चार भाषण
काठमाडौं, फागुन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री चुनिएको एक वर्ष पुगेको दिन बिहीबार मात्र चार वटा समारोहमा लामो–लामो सम्बोधन गरे....
काठमाडौं, फागुन २ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री चुनिएको एक वर्ष पुगेको दिन बिहीबार मात्र चार वटा समारोहमा लामो–लामो सम्बोधन गरेका छन् । एक वर्ष पुग्नुअघिदेखि नै सरकारले गति नलिएको र लय नसमातेको भन्दै आलोचना खेपिरहेका प्रधानमन्त्री ओली एक साताअघिदेखि नै आफ्नो सरकारका कामबारे सन्देश दिन जुटेका थिए ।
प्रधानमन्त्री ओलीसँग बिहीबार बिहानै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा भेट गरेका थिए । दाहाल अघिल्लो दिन बुधबार पार्टी कार्यालयको ‘जनयुद्ध दिवश’ समारोहमा जानुअघि पनि बालुवाटार गएर प्रधानमन्त्रीलाई भेटेका थिए । ओली वर्ष दिनको चटारोका कारण उक्त कार्यक्रममा आउन नसकेको दाहालले बताएका थिए श्र एक वर्षअघि बेग्लै पार्टीको अध्यक्षका रूपमा प्रधानमन्त्री बनाउन समर्थन दिएका दाहाल अहिले नेकपाकै अध्यक्ष भएका छन् ।
प्रधानमन्त्रीले दाहाल फर्केलगत्तै बालुवाटारमै सांसदहरूको टोलीसँग छलफल गरेका थिए । बालुवाटारमै खाना खाएर ललितपुरको एकान्तकुनास्थित पानीजहाज कार्यालय उद्घाटन गर्न पुगे– प्रधानमन्त्री ओली । भौतिक योजना मन्त्रालयको पूर्व निर्धारित साढे १० बजेको उक्त कार्यक्रममा केही ढिलो गरी पुगेका प्रधानमन्त्रीले भने, ‘नेपालमा पानीजहाज चल्छ–चल्छ । केही महिना पर्खिनूस्, पानीजहाजको टिकट काट्ने दिन धेरै टाढा छैन ।’
केही विद्वानले नयाँ युग के हो भनेर प्रश्न गरेको बताउँदै भने, ‘नेपाल अब नयाँ युगमा प्रवेश गरेको छ । पानीजहाज युगमा प्रवेश गरेको छ ।’
प्रधानमन्त्री ओलीले नेपालका नदी अनुसार जहाज बनाउन इञ्जिनीयरहरूलाई आग्रक पनि गरे । उनले भने, ‘हाम्रा नदी गहिरा छैनन्, फिँजारिएका छन् भने फराकिला चौडाइका जहाज बनाउनुस् । केही मिटर साना जहाज बनाउनुस् । थ्यौरीले चल्न दिँदैन भनेर नबस्नुस् । थ्यौरीलाई नै थोरै परिवर्तन गरेर भए पनि पानी जहाज बनाउनुस् ।’
पानीजहाज कार्यालयको भाषण सकेर सीधै प्रधानमन्त्री ओली राष्ट्रिय सभागृह पुगे– उर्जा मन्त्रालयको अर्को कार्यक्रम उद्घाटन गर्न । त्यहाँ प्रधानमन्त्री ओलीले अर्को कार्यक्रम उद्घाटन गरे– ‘जनताको जलविद्युत कार्यक्रम’ को । जसको नारा छ– ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली जलविद्युतको शेयरधनी ।’ उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै ओलीले यस्तो कम्पनीको पहिलो शेयरधनी आफू बन्ने पनि बताए । उनले भने, ‘केही मानिसलाई अचम्म लागेको र असम्भव ठानिएका विषयलाई समेत हामी क्रमशः अघि बढाउँदै लैजान्छौँ ।’
हरेक दिन सरकार एक कदम अघि बढेको दाबी गर्दै प्रधानमन्त्रीले हिजो (बुधबार) मात्रै श्रम तथा रोजगार मन्त्रालयको कोही पनि नेपाली बेरोजगार बस्नु नपर्ने कार्यालयको उद्घाटन गरेको, आजै पानी जहाज कार्यालय खुलेको र जनताको लगानीमा जलविद्युत आयोजना सुरु भएको बताउँदै दाबी गरे, ‘गरिब नेपालको परिचय बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गनेए महाअभियान सुरु भएको छ ।’
राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री ओली सीधै दरबारमार्गस्थित याक एण्ड यती होटल पुगे, जहाँ बिहानैदेखि ‘सिएनआई’ को कार्यक्रम जारी थियो । प्रधानमन्त्री ओलीले त्यहाँ झण्डै ४० मिनेट सम्बोधन गरे । तीन ओटा कार्यक्रममा भाषण गरेर प्रधानमन्त्री ओली करिब सवा ३ बजे मात्र बालुवाटार पुगेका थिए ।
केही बेर आराम गरी प्रधानमन्त्री ओली फेरि सिंहदरबारको पुरानो संसद्भवन अगाडि पाल टाँगेर बनाइएको समारोह स्थलबाट देशवासीका नाममा सम्बोधन गर्न करिब ४ बजे पुगेका थिए । त्यहाँबाट देशबासीको नाममा गरेको सम्बोधन तुलनात्मक रूपमा छोटो थियो । सम्बोधन सक्दै प्रधानमन्त्रीले भने, ‘नयाँपिढीका भाइबहिनीलाई ह्याप्पी भ्यालेन्टाइन डे ।’






