Kathmandu Press

अब नौ–नौ महिनामा सरकार फेरिँदैन, बानी फेरौँ : प्रधानमन्त्री  

काठमाडौं, फागुन २ : प्रधानमन्त्री केपी ओलीले मुलुकमा राजनीतिक समस्या हल भएकाले अब सरकार विकास र आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताएका छन् ।

अब नौ–नौ महिनामा सरकार फेरिँदैन, बानी फेरौँ : प्रधानमन्त्री  

काठमाडौं, फागुन २ : प्रधानमन्त्री केपी ओलीले मुलुकमा राजनीतिक समस्या हल भएकाले अब सरकार विकास र आर्थिक समृद्धिको बाटोमा अघि बढेको बताएका छन् ।

सत्ताको बागडोर सम्हालेको एक वर्ष पुगेको अवसरमा आज अपराह्न देशवासीको नाममा सम्बोधन गर्दै ओलीले सरकारले एक बर्षमा गरेको कामको फेहरिस्त पेश गरे । ओलीले सरकार ५ नम्बर गियरमा हिँड्ने तयारीमा रहेको तर ती गियरहरू क्रमशः लाग्ने बताए ।

‘समस्याहरू छन् भन्ने थाहा छ । जति गरेका छौँ, त्यो पर्याप्त छैन । जनताको चाहना विकासको गति ५ नम्बर गिएरमा होस् भन्ने छ,’ ओलीले भने, ‘तर गियर त क्रमश मात्रै बढाउँन सकिन्छ ।’

प्रधानमन्त्री ओलीले नौ महिनाको सरकार हेर्ने बानी परेकालाई सरकारले एक बर्ष कटायो भन्दा अनौठो लागेको हुन सकेको पनि बताए । ‘नौ महिनामा सरकार फेर्ने बानी परेकालाई अहिले अनौठो लागेको हुन सक्छ’ ओलीले सम्वोधनमा भने, ‘अव सरकार फेरिँदैन, बानी फेरौँ।’

प्रधानमन्त्री ओलीले सरकारले एक वर्षसम्म गरेको कामका बारेमा विषयगत मन्त्रालयको प्रगति लिखित रुपमा पढेका थिए । उनले विभिन्न विधेकयहरु पारित, प्रदेश र स्थानीय तहमा कर्मचारी पठाउँनेलगायतका प्रशासनिक कार्य सम्वोधनमा उल्लेख गरेका थिए ।  

उनले लगानी प्रवद्र्धनको उपयुक्त वातावरण निर्माण भएको उल्लेख गर्दै त्यसका लागि १३ वटा ऐन परिमार्जनको प्रक्रिया अघि बढेको बताए ।  

ओलीले, उद्योग दर्ता एकै स्थानबाट सेवा दिने तयारी पूरा भएको, बाहिरका लगानीकर्तालाई नेपालमा बोलाउने वातावरण बनेको, प्रधानमन्त्रीको अध्यक्षतामा उद्योग बाणिज्य संवाद परिषद् गठन भएको लगायतलाई सरकारको उपलब्धिको रुपमा प्रस्तुत गरे ।  

सरकारलाई नीतिगत सल्लाहका लागि नीति अध्ययन प्रतिष्ठान गठन, विमानस्थल दैनिक २२ घण्टा चालु, पोखरा अन्तर्राष्ट्रिय विमान स्थल तोकिएको भन्दा अघि नै सकिने, तुईन विस्थापित गर्ने अभियान अन्तिम चरणमा पुगेको, विकासको शासकीय क्षमता बृद्धि हुँदै गएको लगायतका प्रगति सम्वोधनमा उल्लेख थियो ।

ओलीले आफूले आजै पानी जहाज कार्यालयको उद्घाटन गरेको उल्लेख गर्दै त्यो चलाउनलाई नै भएको पनि बताए ।  उनले पानी जहाजलाई हाँसोमा उडाउँनेहरुतर्फ संकेत गर्दै भने, ‘टिकट काट्न पाइन्छ, केही समय पर्खनुहोस् ।’

उनले परराष्ट्र सम्बन्धमा पनि सरकारले निकै ठूलो उपलव्धि हासिल गरेको बताए । ‘सबैसँग गहिरो मित्रता, कसैसँग पनि छैन शत्रुता भन्ने भावनाले सन्तुलित परराष्ट्र नीति अघि बढाएका छौँ,’ ओलीले भने, ‘बल्ल क्षेत्रीय मञ्चमा नेपाल सुनिन थालेको छ, अन्तर्राष्ट्रिय फोरममा नेपाल देखिन थालेको छ ।’

ओलीले भारतका प्रधानमन्त्रीको दुई पटकको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध बलियो हुदैँ गएको पनि बताए । उनले आफ्नो विदेश भ्रमणका क्रममा नेपालको राजनीतिक परिवर्तन दुनियाँलाई आश्चर्य मै पार्ने खालको भएको पनि बताए ।

 

प्रकाशित मिति: १७:४७ बजे, बिहीबार, फागुन २, २०७५