अपांगता भएका बालबालिकाको उपचार गर्दै जाजरकोटकाे नलगाड
पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका-४ स्थित जनता प्रावि पिपलचौरका सातजना विद्यार्थीलाई बनेपा अस्पतालमा उपचार सुरु गर्न लागिएको नगरप्रमुख डम्बरबहादुर रावतले जानकारी दिए।जाजरकोट, माघ २५ : आर्थिक रुपमा कमजोर भई आफैँ उपचार गर्न नसक्ने अपांगता, अशक्त तथा असहाय बालबालिकाको जाजरकोटको नलगाड नगरपालिकाले उपचार सुरु गरेको छ।
पहिलो चरणमा पालिकाले नलगाड नगरपालिका-४ स्थित जनता प्रावि पिपलचौरका सातजना विद्यार्थीलाई बनेपा अस्पतालमा उपचार सुरु गर्न लागिएको नगरप्रमुख डम्बरबहादुर रावतले जानकारी दिए।
दोस्रो चरणमा पालिकाभित्रका सबै शारीरिक अशक्त तथा असहाय बालबालिकालाई दल्लीमा शिविर सञ्चालन गरेर उपचार गरिने उनले जानकारी दिनुभयो। उनका अनुसार यहाँ उपचार सम्भव नभएकालाई बाहिर उपचार गरिनेछ।
'अहिले नगरपालिकाभित्रका सबै वडामा शारीरिक अशक्त तथा असहाय बालबालिकाको खोजी भइरहेको छ', उनले भने।
वडाध्यक्षलगायत अन्य सरोकारवाला निकायको पहलमा खोजी गरी फागुन १४ मा शिविर सञ्चालन गर्ने योजना रहेको पालिकाले जनाएको छ। नगरप्रमुख रावतले भने, 'दल्लीमा उपचार सम्भव नभएकालाई बाहिर लगेर पूर्ण रुपमा उपचार गर्ने योजना अनुरुप काम भइरहेको छ।'
पहिलो चरणमा उपचार गर्नेको प्रदेशस्थित अपाङ्ग बाल अस्पताल तथा पूर्नस्थापना केन्द्र वीरेन्द्रनगर सुर्खेतबाट सिफारिस गरी बनेपा अस्पतालमा लगिएको उनले जानकारी दिए। नगरपालिकाको यो अभियानले आर्थिक रुपमा पछि परी वषौँदेखि उपचार नपाएका बालबालिका तथा अभिभावक खुसी भएका छन्।
यसअघि नगरपालिकाले आर्थिक कमजोर भएका परिवारलाई जटिल प्रकृतिको रोग लागेमा उपचारका लागि आर्थिक सहयोग गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए।
नगरपालिकाको पहलमा अहिले पालिकास्तरमै आँखाको उपचार सेवा समेत सुरु भएको छ। आँखाको उपचार गर्न सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य भएसँगै यहाँका सर्वसाधारण घर, आँगनमै आँखाको जाँच गरी सेवा लिइरहेका छन्।