कांग्रेसले राष्ट्रपतिमा दाबी गर्दा ओलीको सातोपुत्लो उडेको छ : चित्रबहादुर केसी
ओलीले सदनमा बोलेको सबै कुरा सुन्दा अहिलेको प्रधानमन्त्री प्रचण्ड नभएर ओली नै भएको निष्कर्षमा आफू पुगेको पनि उनले बताए।
काठमाडौं, माघ २२ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गरेको हुनाले एमाले अध्यक्ष केपी ओलीको सातो पुत्लो उडेको बताएका छन्।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘हामी यहाँ पहिलेदेखि नै संसदमा बसेका छौं। उहाँसँगै सरकारमा पनि बसेका छौं। उहाँले जेजति आकाश पताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण भनेको के हो भने– नेपाली कांग्रेसल राष्ट्रपतिमा दाबी गरेको हुनाले सातो पुत्लो उडेको छ। मुख्य कुरा त्यही हो, अरु होइन।’
ओलीले सदनमा बोलेको सबै कुरा सुन्दा अहिलेको प्रधानमन्त्री प्रचण्ड नभएर ओली नै भएको निष्कर्षमा आफू पुगेको पनि उनले बताए। उनले ओलीले प्रवासीहरुको विषयमा गोहीको आँसु चुहाएको बताए। ‘राष्ट्रिय जनमोर्चाले लामो समयदेखि प्रवासीहरुलाई मताधिकार दिनुपर्छ भनेर लड्दै आएको छ,’ उनले भने, ‘आज त उहाँले गोहीको आँशु चुहाउनुभयो। उहाँको बोलीबाट मैले के निष्कर्ष निकालेको छु भने अहिलेको माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ होइन, उहाँ नै हो।’
केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा सहमति खोज्ने कुरा गरेपछि ओली आतंकित भएको दाबी गरे। तर त्यस्तो आतंकित हुनुपर्ने आवश्यकता नरहेको उनले बताए।
‘उहाँलाई चिन्ता के हो भने पुष्पकमलजी सहमतिमा जानुपर्छ भनेर कुरा राख्नुभएको छ। २६ गतेदेखि नै उहाँ आतंकित हुनुभएको छ। किन आतंकित हुन पर्यो? हामीले देखेका छौँ, भोगेका छौँ। सर्वोच्चको कुरा यत्तिका गर्नुभयो, सर्वोच्चले संसद भत्काएर कुरा बेठकी छ भन्दा उहाँले पालना गर्नुभयो?’
अध्यक्ष केसीले पूर्वप्रधानमन्त्रीहरुले जति बोले पनि पाउने नियम हिी नभएको बताए। ‘बोल्ने बेला मेरा दुई शब्द यहीँ टुंग्याउँछु भन्नेले ३९ मिनेट बोल्नुभयो,’ उनले भने, ‘अब उहाँहरुलाई पनि बोल्ने निश्चित समय तोकिनुपर्छ।’









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

