Kathmandu Press

चिनियाँ ‘बेलुन’ समुद्रमा खसालेकाेमा बाइडेन प्रशासनद्वारा पेन्टागनकाे प्रशंसा

उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन्। पेन्टागन स्रोतका अनुसार एफ-२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त बेलुनलाई खसालिएको हो। 
चिनियाँ ‘बेलुन’ समुद्रमा खसालेकाेमा बाइडेन प्रशासनद्वारा पेन्टागनकाे प्रशंसा

काठमाडाैं, माघ २२ : अमेरिकी बाइडेन प्रशासनले शनिबार अमेरिकी एटलान्टिक तटमा ‘चिनियाँ बेलुन’ खसालेकोमा पेन्टागनको प्रशंसा गरेको छ। तर चीनले यस कदमप्रति आफ्नो ‘कडा असन्तोष’ व्यक्त गर्दै ‘आवश्यक प्रतिक्रिया’ दिन सक्ने बताएको छ।

उक्त बेलुनले उत्तर अमेरिकी क्षेत्रमा केही दिन बिताएको पेन्टागनका अधिकारीहरूले बताएका छन्। पेन्टागन स्रोतका अनुसार एफ-२२ विमानबाट क्षेप्यास्त्र प्रहार गरी दक्षिणपूर्वी राज्य दक्षिण क्यारोलिनाको तटमा उक्त बेलुनलाई खसालिएको हो। 

'चीनले हाम्रो सार्वभौमिकताको अस्वीकार्य उल्लङ्घन गरेको प्रतिक्रियास्वरूप बेलुन खासाल्नु ‘जानाजानी गरिएको र विधिसम्मत कदम’ हो,' अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले भनेका छन्। तर चीनको विदेश मन्त्रालयले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै अमेरिकी कदमको निन्दा गर्दै ‘नागरिक’ विमान (बेलुन) खसालेको घटना’ स्पष्ट रूपमा अतिरञ्जित र अन्तर्राष्ट्रिय अभ्यासको गम्भीर उल्लङ्घन’ भएको बताएको छ।

एक वरिष्ठ रक्षा अधिकारीले पत्रकारहरूसँग भने, 'शनिबार अपरान्ह सेनाले बेलुनलाई ‘अमेरिकीहरूको सुरक्षाको लागि खतरा उत्पन्न नगर्ने गरी’ खसाल्ने पहिलो मौका थियो। 

प्रत्यक्षदर्शीले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा बेलुन सेतो पफमा टुक्रिएको जस्तो देखिएको थियो र यसको अवशेष तल एटलान्टिक महासागरमा सिधै खसेको देखिएको छ। ट्विटर प्रयोगकर्ता हेली वाल्शले दक्षिण क्यारोलिनाको एक लोकप्रिय रिसोर्ट शहर मर्टलबिचमा विस्फोटको आवाज सुनेको र महसुस गरेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार बेलुनको ‘निगरानी गर्ने’ बताएका थिए। 

बाइडेनले मेरिल्याण्डमा पत्रकारहरूसँगको कुराकानीमा भने, 'उनीहरूले यसलाई सफलतापूर्वक तल झारे। म यस कार्यमा सरिक हुने हाम्रा ‘एभिएटर्स’को प्रशंसा गर्छु।' घटनालाई चीनले ‘स्पष्ट रूपमा अतिरञ्जित’ भनेको छ। अमेरिकी अधिकारीहरूले अमेरिकी आकाशमा एउटा ठूलो चिनियाँ ‘सर्भिलेन्स बेलुन’ ट्र्याक गरिरहेको बताएपछि बिहीबार विवाद सुरु भएको थियो।

घटनापछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अमेरिका र चीनबीच बढ्दो तनावलाई नियन्त्रण गर्न गर्ने भनिएको बेइजिङको दुर्लभ भ्रमण रद्द गरेका छन्। प्रारम्भिक हिचकिचाहट पछि, बेइजिङले ‘एयरशिप’ को स्वामित्व स्वीकार गरेको छ। तर, यसलाई मौसम अनुसन्धानका लागि गरिएको एउटा नागरिक बेलुन भन्दै यो घटनाप्रति ‘खेद’ व्यक्त गर्दछ।

तर शनिबारको प्रतिक्रियापछि विदेश मन्त्रालयले ‘मानवरहित नागरिक हवाई जहाजमाथि आक्रमण गर्न संयुक्त राज्य अमेरिकाले बल प्रयोग गरेकोमा चीनको कडा असन्तोष र विरोध’ व्यक्त गरेको छ। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'संयमित ढङ्गले जवाफ दिनुको साटो संयुक्त राज्य अमेरिकाले बल प्रयोग गर्न जोड दिएको छ।'

विज्ञप्तिमा भनिएको छ, 'चीनले सम्बन्धित उद्यमहरूको वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्नेछ र थप आवश्यक प्रतिक्रिया हरू दिने अधिकार सुरक्षित राख्नेछ।' पेन्टागनका अधिकारीहरूले शनिबार पत्रकारहरूलाई बताएअनुसार बेलुन पहिलो पटक जनवरी २८ मा अलास्काको अमेरिकी आकाशमा प्रवेश गरेको थियो। 

हालैको इतिहासमा यस्तो विमान अमेरिकी भूमिमा उडेको यो पहिलो घटना भने होइन, वरिष्ठ रक्षा अधिकारीले भने, यद्यपि यो देशमा बिताएको सबैभन्दा लामो समय हो। डोनाल्ड ट्रम्पको कार्यकालमा तीन वटा बेलुन र बाइडन प्रशासनको पालामा एउटा बेलुन देखिएको थियो।

बाइडनले बुधबार पत्रकारहरुसँग कुरा गर्दै आफूले जतिसक्दो चाँडो उक्त यान लाई खसाल्न आदेश दिएको बताएका थिए। बाइडेनले भने, 'जमीनमा कसैलाई हानि नपुर्‍याई त्यो काम गर्न सबैभन्दा राम्रो समय थियो। उनीहरूले सही निर्णय गरे। बेलुन पानीमा खसालिएको छ।'

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, माघ २२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्