Kathmandu Press

हवाई भाडा घटाउन उद्योग परिसङ्घको माग

हवाई भाडा घटाउन उद्योग परिसङ्घको माग

काठमाडाैं, माघ २० : नेपाल उद्योग परिसङ्घले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग नेपालको पर्यटन उद्योगबारे छलफल गरेको छ ।

मन्त्री किराँतीसँगको आजको छलफलमा नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, युरोपियन युनियनले राखेको सुरक्षा सूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारबारे सुझाव दिएको परिसङ्घले विज्ञप्तिमार्फत जनाएको छ ।

Hardik ivf

'हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न, राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन, युरोपियन युनियनले नेपाललाई राखेको सुुरक्षा सूचीबाट हटाउन आवश्यक पहलका लागि परिसङ्घले मन्त्री किराँतीसँग आग्रह गरेको छ,' परिसङ्घले विज्ञप्तिमा भनेको छ ।

मन्त्री किराँतीसँगको भेटमा परिसङ्घका उपाध्यक्ष राजबहादुर शाहले नेपालको हवाई भाडा अत्यन्त महङ्गो हुँदा नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विदेशी पर्यटकहरू आउन नसकिरहेको धारणा राखे। त्यस्तै, परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसङ्घले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको उल्लेख गर्दै पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए।

परिसङ्घअन्तर्गतको पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योग सरह पाउने सुविधा दिन आग्रह गरे। यस्तै अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्नेमा उनले जोड दिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सफल रूपमा सञ्चालनका लागि हवाई रुटको अभावमा चुनौती देखा परेको बारे पनि परिसङ्घले मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नेपालमा भारतीय पर्यटकले ल्याउन पाउने नगदको सीमा हटाउन आवश्यक पहल गर्न र नेपाललाई ‘फिल्मिङ’ गन्तव्यका रूपमा विकास एवं प्रवर्द्धनका पहल गर्न पनि परिसङ्घले आग्रह गरेको छ ।

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, माघ २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्