पार्टी नेतृत्वको कमजोरीका कारण कांग्रेस प्रतिपक्षमा बस्न बाध्य

काठमाडाैं, माघ २० : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टी नेतृत्वको कमजोरीका कारण पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका छन।
न्यूज लाइन्स नेपालको सातौं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता केसीले पार्टी नेतृत्वले सहि निर्णय दिन नसक्दा पहिलो पार्टी हुँदाहुँदै पनि कांग्रेस प्रतिपक्षमा बस्न बाध्य भएको बताएका हुन।
नेता केसीले कांग्रेसलाई अहिले सरकारमा जान कुनै हत्तारो नभएको पनि बताए। उनले मुलुकमा देखिएका बिभिन्न समस्या समाधानका लागि राष्ट्रिय सहमति खोज्नुपर्नेमा कांग्रेसको जोड रहेको धारणा राखे। सभामुख, प्रधानमन्त्री बिभिन्न पार्टीको भइसकेको अवस्थामा राष्ट्रपति कांग्रेसले पाउदा बृहत शक्तिसन्तुलन हुने उनकाे दाबी छ। उनले गृह मन्त्रालयका बिषयमा शक्ति र सत्तामा झगडा सुरु भइरहेको जिकिर गरे। केसीले गठबन्धनभित्र स्वतन्त्र पार्टीलाई नै गृहमन्त्रालय दिने सहमति भएको हो भने रास्वपाका अन्य सांसदहरुलाई उक्त मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिए। ठूला ठूला आदर्शका कुरा गरेर आएकाहरुले सत्ताका लागि झगडा गर्न नसुहाउने उनले बताए ।
नेता केसीले देश भ्रष्टाचारको महामारीले असफलतातिर गएको पनि बताए । देशको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा राष्ट्रिय सहमती निर्माण गर्नुपर्नेमा उनको जोड छ ।












