Kathmandu Press

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

मुगु, माघ १६ : कर्णालीका मुगु, हुम्ला, जुम्लालगायतका स्थानीय भूकम्प आउने हल्लाका कारण रातभर जाग्राम बसेका छन् । मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर जाग्राम बसेका हुन् ।

केही दिनअघि बाजुरा केन्द्र बिन्दु बनाइ भूकम्प गएको थियो । त्यही भूकम्पको त्रासमा रहेका कर्णालीवासी आइतबार राति २ बजे ‘भूकम्प आउँदै छ’ भन्ने हल्लाका कारण रातभर घरबाहिर चिसोमा बसेका हुन् ।

‘राति २ बजेपछि भूकम्प आउँदै छ’ भन्ने हल्ला गाउँभरी फैलिएपछि त्रसति भएका सदरमुकाम गमगढीका स्थानीय प्राविधिक कार्यालय, खाद्य संस्थान र महाकाली नमुना माध्यमिक विद्यालयको खुल्ला चौरमा आगो तापेर रातभर जाग्राम बसेका थिए ।

गलत सूचनाका कारण माघको चिसोमा दूधे बालक काखमा च्यापेर घरबाहिर बस्न बाध्य भएका स्थानीय गलत सूचना दिनेलाई सम्बन्धित निकायले खोजी गरी कारवाही गर्नुपर्ने बताउँछन् । 

गलत सूचनाले सामाजिक रूपमा मात्रै नभएर मानसिकरुपमा पनि नकारात्मक असर गर्ने भएकाले सम्बन्धित निकाय त्यस्ता व्यक्तिलाई खोजी कारवाही गर्नुपर्ने नेपाल रेडक्रस मुगुका मन्त्री रत्नसिंह मल्लले बताए। 

यसैबीच भूकम्प आउने हल्लाका कारण स्थानीय त्रसित भएपछि छायाँनाथ रारा नगरपालिका विपद् व्यस्थापन शाखाले भ्रमको पछि नलाग्न आग्रह गरेको छ । नगरपालिकाका प्रमुख विष्णुकुमार भामले भूकम्प आउने पूर्व सूचना नहुने भएकाले गलत हल्लाको पछि नलाग्न आग्रह गरे।

बीस वर्षअघि ‘रारा ताल फुट्ने’ भन्दै हल्ला फैलाइएपछि रारा ताल आसपासका स्थानीय भागेर अग्ला–अग्ला स्थानमा गएका थिए। 

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्