राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छ : मुख्यमन्त्री रावल
आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताए।
कञ्चनपुर, माघ १४ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राष्ट्र निमार्णका लागि खेलकुदको भूमिका महत्वपूर्ण भएको बताएका छन्।
आजदेखि महेन्द्रनगरमा कञ्चनपुर क्रिकेट मेलाको चौथो संस्करणको उद्घाटन गर्दै उहाँले खेल हार र जितका लागि मात्र नभई राष्ट्र निमार्णका लागि योगदान हुने बताए।
'खेल हार र जितका लागि मात्रै होइन यसले राष्ट्र निमार्णमा समेत योगदान गरेको हुन्छ', मुख्यमन्त्री रावलले भने, 'राष्ट्रको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न जरुरी छ।' उहाँले कञ्चनपुर खेलाडी उत्पादनको भूमिसमेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताए।
स्टार प्रोडक्सनले आयोजना गरेको क्रिकेट मेलामा कर्पोरेट क्रिकेट प्रतियोगिता, वडास्तरीय प्रतियोगिता र विद्यालयस्तरीय प्रतियोगिता सञ्चालन हुनेछन्। आजदेखि कर्पोरेट क्रिकेट प्रतियोगिता सुरु भएको र वडास्तरीय तथा विद्यालयस्तरीय प्रतियोगिता पनि आइतबारदेखि सञ्चालन हुने प्रतियोगिता संयोजक अविनाश जोशीले जानकारी दिए।
उहाँका अनुसार प्रतियोगितामा विजेता टोलीले रु एक लाख ११ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले रु ५५ हजार, ट्रफी र प्रमाणपत्र पाउनेछ।
‘सिरिज अफ दी टिम’ले रु पाँच हजार पाँच सयसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने संयोजक जोशीले बताए। प्रतियोगितामा उत्कृष्ट ‘ब्याट्स म्यान’ र ‘बलर’लाई रु तीन हजार पाँच सयसहित प्रमाणपत्र र मेडल प्रदान गरिनेछ।
कर्पोरेट क्रिकेट प्रतियोगितामा एनआइसी एसिया बैंक, सनराइज बैंक, उदयदेव सहकारी, एनएमवी बैंक, नविल बैंक, सुदूरपश्चिम विश्वविद्यालय, सिएमजी क्लब, हेप्पी हावर, लिटिल बुद्ध एकेडेमी, सिर्जनशील सहकारी र मेगा सहकारी गरी ११ टोलीको सहभागिता रहेको छ।











