बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइयो, परेनन् सन्दीप
क्यानले नामिबिया र स्टकल्यान्डविरुद्धको सिरिजका लागि शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। तर, क्यानले बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई भने टिममा राखेनन्।
काठमाडाैं, पुस १३ : आगामी महिना हुने त्रिकोणात्मक सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले नामिबिया र स्टकल्यान्डविरुद्धको सिरिजका लागि शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
तर, क्यानले बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई भने टिममा राखेनन्। गत असोजमा बलात्कार आरोप लागेपछि निम्बनमा रहेका सन्दीप ३ साताअघि मात्र धरौटीमा रिहा भएका थिए।
उनी रिहा भएलगत्तै क्यालने सन्दीपलाई फर्काउने तयारी भइरहेको बताएको थियो। बिहीबार क्यानले गरेको पत्रकार सम्मेलनमा अध्यक्ष चतुरबहादृुर चन्दले पनि सन्दीपलाई टिमा ल्याउने विषयमा छलफल भइरहेको बताएका थिए। तर, शुक्रबार घोषणा गरिएको टिममा सन्दीप अटाउन सकेनन्।
क्यानले बोलाएको टिममा तीन नयाँ अुनसारले मौका पाएका छन्। जसमा गत महिनासम्म नेपाल टि–२० लिगमा उत्कृष्ट प्रदर्शन गरेका सूर्य तामाङसँगै मौसम ढकाल र अंकित सुदेवी छन्।
यस्तै, टिममा लामो सयमपछि अलराउन्डर सिद्धान्त लोहनी र कुशल मल्लले नेपाली टिममा पुनरागमन गरेका छन्। भेट्रान अलराउन्डर शरद भेषाकवरले पनि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् भने नेपाल टि–२० लिगमा उत्कृष्ट ब्याटिङ गरेका सन्दीप जाेराले पनि टिममा पुनरागमन गरेका छन्।
यस्तै, नामिबिया भ्रमण रहेका हरिशंकर साह र नन्दन यादव भने यो पटक टिममा अटाउन सकेनन्।
सिरिज कीर्तिपुरस्थित टियू मैदानमा आगामी फेब्रुअरी १४ बाट सुरु हुनेछ। सोही दिन नेपालले नामिबियासँग खेल्नेछ। यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ भने तेस्रो खेल नामिबियासँग फेब्रुअरी १८ र अन्तिम खेल पुनः स्कटल्यान्डसँग फेब्रुअरी २१मा खेलने छ।
२४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको नेपालका लागि बाँकी खेल निकै महत्वपूर्ण छ। एकदिवसीय विश्वकप छनोटको अघिल्लो चरण पुग्ने नेपालको सम्भावना सकिए पनि बाँकी खेल जितेमा नेपालको एकदिवसीय मान्यता जोगिन सक्छ। स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा छ भने नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ।
नेपाली टिम :
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सूर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव, भीम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, बिक्रम सोब, भुवन कार्की, अंकित सुवेदी ।











