Kathmandu Press

स्तन क्यान्सर पत्ता लगाउन एआई

एउटा कम्प्युटर प्रोग्रामले नियमित परीक्षणबाट विशेषज्ञभन्दा धेरै सटिकताका साथ स्तन क्यान्सर पत्ता लगाउन सक्ने भएको छ। अनुसन्धाताले यसलाई “ग्लोबल किलर” विरूद....

स्तन क्यान्सर पत्ता लगाउन एआई

एउटा कम्प्युटर प्रोग्रामले नियमित परीक्षणबाट विशेषज्ञभन्दा धेरै सटिकताका साथ स्तन क्यान्सर पत्ता लगाउन सक्ने भएको छ। अनुसन्धाताले यसलाई “ग्लोबल किलर” विरूद्धको लडाइँमा ठूलो उपलब्धि मानेका छन्।

स्तन क्यान्सर महिलालाई बढी देखिन्छ। पोहोर साल मात्रै २० लाख नयाँ संक्रमित पत्ता लागेका छन्। यसको कुनै विशेष लक्षण देखिँदैन। त्यसैले समयमै रोग पत्ता लगाउन नियमित परीक्षण गराउनु महत्वपूर्ण हुन्छ।

बेलायतमा ५० वर्षमाथि उमेर भएका महिलालाई हरेक तीन वर्षमा म्यामोग्राम गराउन सल्लाह दिइन्छ। परीक्षणको नतिजालाई दुई स्वतन्त्र विशेषज्ञले विश्लेषण गर्दछन्। तर परीक्षणको विश्लेषणमा त्रुटि हुनसक्छ। सबै म्यामोग्रामको थोरै प्रतिशतले गलत नतिजा देखाउँछ। यसले गर्दा स्वस्थ व्यक्तिलाई पनि स्तन क्यान्सर भएको देखाउनसक्छ। कहिलेकाहिँ रोग भएकालाई पनि स्वस्थ देखाउँछ। यसले रोग अझ फैलिने सम्भावना हुन्छ।

Hardik ivf

अहिले गुगल हेल्थका अनुसन्धाताले एउटा आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) मोडेललाई स्तन क्यान्सर पत्ता लगाउन प्रशिक्षण दिएका छन्। बेलायत र अमेरिकाका हजारौं महिलाको परीक्षण नतिजाबाट कसैलाई स्तन क्यान्सर भए नभएको निर्क्यौल गर्न सो एआइलाई तालिम दिइएको छ। 

वास्तविक जीवनमा परीक्षणका ती नतिजालाई चिकित्सकले हेरिसकेका छन्। तर अस्पताल वा कुनै चिकित्सकीय परिवेशभन्दा फरक रोग पत्ता लागे नलागेको सूचना दिनलाई ती मेसिनसँग बिरामी कुनै पृष्ठभूमि थिएन। विशेषज्ञ रेडियोग्राफर जत्तिकै सटिक त्यो एआइ मोडेलले स्तन क्यान्सर भए नभएको पत्ता लगाउन सक्ने अनुसन्धाताले निष्कर्ष निकालेका छन्। यसबाहेक क्यान्सरको पहिचानमा हुने त्रुटिको अनुपात पनि घटेको छ।

“क्यान्सरको पहिचान जति छिटो भयो, बिरामीका लागि त्यति नै राम्रो हुन्छ,” गुगल हेल्थका बेलायती प्रमुख डोमिनिक किङले भने,“यो प्रविधिले विशेषज्ञका साथै बिरामीलाई पनि सहयोग पुग्नेछ।”

बेलायतमा सबै म्यामोग्राम दुई रेडियोलोजिस्टले विश्लेषण गर्दछन्। यो आवश्यक हुनुका साथै धेरै मेहनतको काम पनि हो। गुगल हेल्थको टोलीले मानवीय विश्लेषण र कम्प्युटरको निर्णयको तुलना गर्दै परीक्षण पनि गरेको छ। दुवैको निष्कर्ष एउटै भए घटना समाधान भएको मानियो। दुवैको मत बाझिएको अवस्थामा मात्रै मेसिनलाई दोश्रो समीक्षकको निर्णयसँग तुलना गर्न लगाइयो।

किङ र उनको टोलीले गरेको अध्ययनको निष्कर्ष नेचर जर्नलमा छापिएको छ। पहिलो मानव विशेषज्ञको निर्णयलाई पुष्टी गर्न एआइको प्रयोग गरे दोश्रो विशेषज्ञको कार्यभार ८८ प्रतिशत घट्ने उक्त अध्ययन प्रतिवेदनमा उल्लेख छ।

“नर्स र डाक्टर व्यस्त नभएको एउटा देश देखाउनुस्,” किङ भन्छन्,“विद्यमान उत्कृष्ट मानव विशेषज्ञलाई यो प्रविधिले सहयोग पुग्ने अवसर छ।”

क्यान्सर रिसर्च युकेको म्यामोग्राम कलेक्सन व्यवस्थापन गर्ने चिकित्सक केन योङले पनि अध्ययनमा सहयोग गरेका छन्। झण्डै ३० हजार स्क्यानलाई आधार बनाएर वास्तविक जीवनमै रोग पत्ता लगाउने यो एआइको क्षमता विशिष्ट रहेको उनले बताए।

“स्तन क्यान्सरको परीक्षण गराउने सबै महिलाको प्रतिनिधि नमूना हामीसँग छ,” उनले भने,“यसमा सजिला र कठिन घटनाका साथै त्यसबीच पर्ने सबै घटनाहरू समावेश गरिएको छ।”

टोलीले थप अनुसन्धान आवश्यक भएको बताएको छ। तर यो प्रविधि कुनै दिन क्यान्सर पत्ता लगाउने “सेकेन्ड ओपिनियन” बन्ने उनीहरूले आशा गरेका छन्।
 

प्रकाशित मिति: ०७:०६ बजे, आइतबार, पुस २०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्