स्पट फिक्सिङमा मेहबुब र अदिल आलम पक्राउ
गत महिना सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको अरोपमा सिआइबीले मेहबुब र अदिललाई पक्राउ गरेको हो।
काठमाडाैं, माघ ९ : केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र वर्तमान राष्ट्रिय टिमका अलराउन्डर अदिल आलमलाई पक्राउ गरेको छ।
गत महिना सम्पन्न नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको अरोपमा सिआइबीले मेहबुब र अदिललाई पक्राउ गरेको हो।
पक्राउ परेका आलमले गत जेठमा मात्रै अमेरिकाविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यता मेहबुब कीर्तिमानी अलराउन्डर हुन्। ५० ओभरको क्रिकेटमा एकै खेलमा १० विकेट लिने कीर्तिमान उनको नाममा छ।
मेहबुब र अदिलले साझेदार सेभेन थ्री स्पोर्टसका मालिक जतिन अहुवालियाको योजनाअनुसार स्पट फिक्सिङमा सहयोग गरेको सिआइबीले जनाएको छ।
अदिलले जतिनलाई अन्य खेलाडीहरुसँग पनि सम्पर्क गर्न सहयोग गरेको सिआईबीले जनाएको छ। सिआइबीले ‘म्याच फिक्सिङ’ गर्ने प्रयास भए पनि अनुसन्धान सुरु भएपछि त्यो सम्भव नभएको उल्लेख गरेको छ।
नेपाल टी-२० लिग चलिरहेकै बेला स्पष्ट फिक्सिङ लगायतका विवाद देखिएपछि सभेन थ्री स्पोर्टसमा मालिक भागेर भागेर भारत पुगेका थिए। खेल चलिरहेकै बेला पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आफ्नो खेलाडीलाई पनि फिक्सिङको अफर आएको बताएका थिए।
पछि प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले पनि फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेर जिम्मेवारीबाट बाहिरिएको घोषणा गरेका थिए। त्यसपछि गृहमन्त्रालयले फिक्सिङका विषयमा छानबिन सिबाईलाई निर्देशन दिएको थियो।
स्पट फिक्सिङमा ३ नेपाली क्रिकेटरसहित ७ जनाको संलग्नता रहेको सिआइबीको प्रारम्भिक निष्कर्ष थियो।











