हालान्डको ह्याट्रिकमा सिटीको जित
आइतबार राति इत्तिहाद रंगशालामा भएको खेलमा सिटीले हालान्डको गोल मद्दतमा वुल्भ्समाथि ३-० को जित निकाल्यो । वुल्भ्सविरुद्ध हालान्डले १४ मिनेट अन्तरमा आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
काठमाडौं, माघ ९ : इर्लिक हालान्डको कीर्तिमानी ह्याट्रिक मद्दतमा इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ ।
आइतबार राति इत्तिहाद रंगशालामा भएको खेलमा सिटीले हालान्डको गोल मद्दतमा वुल्भ्समाथि ३-० को जित निकाल्यो । वुल्भ्सविरुद्ध हालान्डले १४ मिनेट अन्तरमा आफ्नो ह्याट्रिक पुरा गरेका थिए ।
उनले ४० औं मिनेमा केभिन डे ब्रुयनको पासमा हेडिङमा गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ५० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै हालान्डले टिमको अग्रता दोब्बर बनाए।
त्यसपछि ५४ औं मिनेटमा रियाद महारेजको पासमा गोल गर्दै हालान्डले आफ्नो ह्याट्रिक पुरा गर्दै टिमलाई ३-० को जित दिलाए । इपिएलमा हालान्डको यो चौथो ह्याट्रिक हो। योसँगै उनी इपिएलमा सर्वाधिक छिटो चार ह्याट्रिक गर्ने खेलाडी बनेका छन्।
१९ खेलमा चौथो ह्याट्रिक गरेका उनले म्यान्चेस्टर युनाइटेडका रुड भान निस्टल रोयको कीर्तिमान तोडे। निस्टल रोयले ६५ खेलमा ४ ह्याट्रिक गरेका थिए। यसै सिजन सिटी आएका हालान्डले इपिएलमा २५ गोल गरेका छन्।
यो जितसँगै सिटी ४५ अंकसहित तालिकाको दोस्रो स्थानमा रहँदा १७ अंक जोडेको वुल्भ्स १७औं स्थानमै छ।











