Kathmandu Press

शीर्ष नेताको शैलीले समृद्धिको अभियानमा अवरोधः डा.भट्टराई

लमजुङ, फागुन २ : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरूको शैलीले देशको समृद्ध....

शीर्ष नेताको शैलीले समृद्धिको अभियानमा अवरोधः डा.भट्टराई

लमजुङ, फागुन २ : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू पनि गर्न नसक्ने अरुलाई पनि गर्न नदिने शीर्ष नेताहरूको शैलीले देशको समृद्धिको अभियान अवरुद्ध भइरहेको बताएका छन् ।

पुष्पलाल लोकमार्गमा सञ्चालित एक महिने जनसंवाद यात्राअन्तर्गत बिहीबार लमजुङको सुन्दरबजार पुगेका भट्टराईले भने, “इतिहासको कथा सुनाएर विकास हुदैँन, कि आफूले क्षमता विकास गर्न सक्नुपर्‍यो नसके नयाँ पुस्तालाई मार्गप्रशस्त गर्नुपर्‍यो । मात्र कुर्सी ओगटेर देशलाई पछाडि नधकेलौं ।”

उनले हिजो लडाईं र क्रान्तिमा अब्बल देखिएका नेताहरु विकास र समृद्धिको नेतृत्व गर्न कमजोर देखिएको बताए । “कतै हाम्रा नेताहरुसँग विकास र समृद्धिको आधारभूत ज्ञानको समेत अभाव भएको त होइन ?” डा.भट्टराईको प्रश्न थियो ।

आउँदा केही दशकहरू असाध्यै महत्वपूर्ण हुने भन्दै राजनीतिक नेतृत्वले यसलाई ध्यान दिन नसक्दा मुलुक थप पीछिडिएको उनको तर्क थियो । “क्रान्तिको नेतृत्व गर्ने क्रान्तिकारीहरू सत्तामा पुगेपछि विचलित हुने रहेछन्,” उनले भने, “आन्दोलनमा ज्यानै दिन तयार हुनेहरु सत्तामा पुगेपछि जनताविरुद्ध काम गर्न थाल्दा रहेछन्, सत्ताको चास्नीमा डुब्नेरहेछन् । भ्रष्टाचार र ठूला काण्डहरुमा मुछिने रहेछन् ।”

हिजो कुन हैसियतमा भएका मानिस आज कुन हैसियतमा पुगे भन्ने कुरा जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, “जनताको हस्तक्षेप र निगरानी बढाउने लोकतन्त्रको विकल्प छैन । लोकतन्त्रको विकल्प निरंकुशता हुन सक्दैन ।”

लोकतन्त्रको स्थापनापछि नयाँ राजनीतिक संस्कार निर्माण गर्नुपर्नेमा उनको जोड थियो । “बहुदलीय प्रतिष्पर्धामा माथि उठेका मानिसलाई तल झार्ने होइन, अझ माथि गएर प्रतिष्पर्धा गर्ने हो,” उनले भने, “हामीले अरुको खुट्टा तान्ने, अरुलाई होचो बनाउने भन्दा आफू अग्लो बन्ने राजनीतिक संस्कारको विश्वास र अभ्यास गर्नुपर्छ ।”

नयाँ विचार ल्याउने मान्छे सुरुमा सानै र थोरै हुने स्पष्ट पार्दै डा.भट्टराईले भने, “हिजोको विचार पूरानो भइसक्यो, संसारभरी नै नयाँ विचारको आवश्यकता महसुस भइरहेको छ । डिजिटल संसारमा ज्ञानको स्रोत हात हातमा छ, भ्रमको पछि लाग्नुभन्दा सबैभन्दा सर्वोत्तम र नयाँ विचार अनुशरण गरौं ।”

प्रकाशित मिति: १२:१२ बजे, बिहीबार, फागुन २, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्