वायु प्रदूषणबाट इरानमा बर्सेनि २० हजार बढीको मृत्यु
वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार समिति तासनिमले जनाएको छ।
काठमाडाैं, माघ ६ : इरानमा वायु प्रदूषणबाट बर्सेनि २० हजार ८ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन्।
वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार समिति तासनिमले जनाएको छ।
तीन करोड ५० लाख जनसङ्ख्या भएको इरानका २७ वटा सहरमा गरिएको अध्ययनबाट ज्यान गुमाउनेको उक्त सङ्ख्या अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका वायु स्वास्थ्य तथा जलवायु परिवर्तन विभागका प्रमुख अब्बास शासवानीले तासनिमलाई बताए।
वायु प्रदूषणका कारण हुने रोगबाट वार्षिक रूपमा १२.६ प्रतिशत मृत्यु हुने गरेको तथा वायु प्रदूषणकै कारण देशले आठ अर्ब २० करोड अमेरिकी डलर वार्षिक क्षति बेहोर्नुपरेको उनले बताए।
राजधानी तेहरानको वायु प्रदूषणको स्थितिबारे टिप्पणी गर्दै उनले एक वर्षमा उक्त सहरमा छ हजार चार सयले ज्यान गुमाएका जानकारी दिए। मृतकको उक्त सङ्ख्या सन् २०२२ को मार्च महिनासम्मको हो। इरानी पात्रोअनुसार मार्चमा वर्ष समाप्त हुन्छ।
शासवानीका अनुसार पुराना मोटरकार र डिजेलबाट सञ्चालन हुने मोटरसाइकल तेहरानको वायु प्रदूषणका प्रमुख कारक हुन्। तेहरानका ५० प्रतिशत यातायातका साधन थोत्रा र पुराना छन् भने ९० प्रतिशत डिजेल मोटरसाइकलले वायु प्रदूषण बढाएका छन्।
शिशिर यामको आगमनसँगै तेहरानलगायत देशका प्रमुख सहरको वायु प्रदूषण डरलाग्दो रूपमा बढ्ने गरेको छ जसले स्थानी बासिन्दाको स्वास्थयमा जोखिम बढाउने गरेको छ। इरानी तथा विदेशी विज्ञले लामो समयदेखि अमेरिकाले लगाएको नाकाबन्दी, धैरै पहिले नै सञ्चालन रोक्नुपर्ने पुराना सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यात्मक परिस्थिति नै वायु प्रदूषणको डरलाग्दो कारण हो।
विश्वका सर्वाधिक वायु प्रदूषण भएका सहरहरूमध्ये तेहरान एक हो। लामो समयदेखि लम्बिएको अमेरिकी नाकाबन्दीका कारण सर्वसाधारण थोत्रा र पुराना सवारीसाधन प्रयोग गर्न बाध्य भएका छन्।
सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रण गर्ने उपकरण र प्रविधि प्राप्त गर्न इरानका निम्ति असम्भव भएको गत महिना राष्ट्रसंघीय मानव अधिकार विज्ञको एक टोलीले घोषणा गरेको थियो।
नाकाबन्दीका कारण इरानका वैज्ञानिक विदेशमा हुने वातावरणसम्बन्धी अध्ययन, अनुसन्धानका परियोजनामा सहभागी हुन पाएका छैनन भने वातावरणीय विषय र त्यसको दिगोपन सुनिश्चित गर्ने तालिमबाट पनि उनीहरू वञ्चित छन्।












