मैत्रीपूर्ण खेलमा पीएसजी ५–४ ले विजयी, मेसीले एक गोल गर्दा रोनाल्डोले गरे दुई गोल
बिहीबार राति साउदी अरेबियाको फाहद स्टेडियममा मेसी आबद्ध पीएसजी र रोनाल्डो आबद्ध रियाद अल स्टार्सबीच मैत्रीपूर्ण प्रतिस्पर्धामा पीएसजीले ५–४ गोलको रोमाञ्चक जित हात पार्यो।
काठमाडौं, माघ ६ : विश्व फुटबलका स्टार खेलाडीद्धय लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको प्रतिस्पर्धा भएको मैत्रीपूर्ण खेलमा मेसीको टोली पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित हात पारेको छ।
बिहीबार राति साउदी अरेबियाको फाहद स्टेडियममा मेसी आबद्ध पीएसजी र रोनाल्डो आबद्ध रियाद अल स्टार्सबीच मैत्रीपूर्ण प्रतिस्पर्धामा पीएसजीले ५–४ गोलको रोमाञ्चक जित हात पार्यो।
नेयरमारको पासमा गोल गर्दै खेलको तेस्रो मिनेटमा नै मेसीले पीएसजीलाई अग्रता दिलाएका थिए। तर, ३४औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई गोलमा परिणत गर्दै रियाद अल स्टार्सका रोनाल्डोले खेललाई बराबरीमा ल्याए।
यस्तै, ४३ औं मिनेटमा नै किलियन एम्बाप्पेको पासमा माक्विन्होसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीको अवसर पाएपनि पीएसजीका नेयमार गोल गर्न चुके। लगत्तै रोनाल्डोले गोल फर्काए, र पहिलो हाफ २–२ को बराबरीमा सकियो।
दोस्रो हाफमा किलियन एम्बाप्पेको पासमा पीएसजीका सर्जियो रामोसले गोल गर्दै अग्रता दिलाए। ५६औं मिनेटमा रियाद अल स्टार्सका जाङ ह्युन सोले हेडरमार्फत् गोल गर्दै खेल ३–३ को बराबरीमा ल्याए।
खेलको ६०औं मिनेटमा पीएसजीले पेनाल्टीको अवसर पायो। किलियन एम्बाप्पेले गोल गर्दा पीएसजी ४–३ ले अगाडि लाग्यो। यस्तै, ७८औं मिनेटमा ह्युगो एकिटिकले गोल गर्दा पीएसजीको अग्रता ५–३ पुग्यो।
रियाद अल स्टार्सका तालिस्काले इन्ज्युरी समयमा गोल फर्काए। खेल ५–४ गोलअन्तरले पीएसजीले जित्यो।











